रास्वपा चन्द्रागिरि नगर अधिवेशन भोलि, सर्वसम्मत नेतृत्व चयनको सम्भावना क्षीण
थानकोट ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको चन्द्रागिरि नगरपालिका अधिवेशनको तयारी सकिएको छ ।
भोलि आइतबार बिहान ७ बजे सो पार्टीको प्रथम नगर अधिवेशनको सतुङ्गलस्थित चन्द्रागिरि पार्टी प्यालेसमा सुरु हुने रास्वपाले जनाएको छ ।
थानकोट टाइम्सलाई रास्वपा स्रोतले दिएको जानकारी अनुसार नयाँ नेतृत्व सर्वसम्मत गराउने प्रयास असफल प्रायः भएपछि मतदान प्रकृयाबाट नेतृत्व चयनको तयारी भइसकेको छ ।
चन्द्रागिरिका १५ वटै वडामा रास्वपाको संगठन विस्तार, कुन वडाको नेतृत्वमा को ? (सूचीसहित)
रास्वपा चन्द्रागिरि नगर निर्वाचन समितिले उम्मेदवारी दर्ता प्रक्रियाको कार्यक्रम शनिबार सार्वजनिक गरेको छ जसनुसार निर्वाचन कार्यक्रम भोलि आइतबार बिहान ८ बजेबाट सुरु हुनेछ । उम्मेदवारले तोकिएको शुल्क बुझाएर इच्छा गरेको पदका लागि उमेदवारी दर्ता गर्न सक्नेछन् । जसअनुसार सभापति पदका लागि १० हजार रुपैयाँ, उपसभापति पदका लागि ५ हजार रुपैयाँ, सचिव पदका लागि ३ हजार रुपैयाँ, अन्य सदस्य पदका लागि १ हजार रुपैयाँ तथा प्रतिनिधिका लागि १ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। मतदान प्रकृयाका लागि वडागत प्रतिनिधिहरू चयन भइसकेका छन् ।
रास्वपा चन्द्रागिरि नगरका निवर्तमान अध्यक्ष एवं अधिवेशन संयोजक जनार्दन केसीका अनुसार सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेकै छ ।
रास्वपा नगर कार्यसमितिमा सभापति, उपसभापति, सचिव, सहसचिव र ११ जना सदस्य चयन हुनेछन्।
तीमध्ये महिला सदस्य कम्तीमा ५ जना र दलित समुदायबाट कम्तीमा १ जना अनिवार्य रहने व्यवस्था छ ।











