सभामुख अर्यालद्वारा कलंकी क्षेत्रको ट्राफिक अवस्था र सडक पूर्वाधारको स्थलगत निरीक्षण

Thankot Times

थानकोट ।

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले काठमाडौँ-९ निर्वाचन क्षेत्रअन्तर्गत पर्ने कलंकी क्षेत्रको यातायात व्यवस्थापन र सडक पूर्वाधारको अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन्।

सभामुख अर्यालले कलंकी आसपासमा देखिएको सवारी चाप, ट्राफिक व्यवस्थापनका विद्यमान चुनौती तथा सडक संरचनाको अवस्थाबारे जानकारी लिएका हुन्।

निरीक्षणका क्रममा यात्रु, स्थानीय बासिन्दा तथा सडक प्रयोगकर्ताले सामना गरिरहेका समस्याका विषयमा सम्बन्धित पक्षसँग छलफलसमेत गरिएको थियो।

स्थलगत अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका-१४, चन्द्रागिरि नगरपालिका-१४ र १५ का वडाध्यक्षहरू, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेश काफ्लेसहित सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अवलोकनका क्रममा कलंकी क्षेत्रको यातायात व्यवस्थापनलाई थप व्यवस्थित बनाउने, सडक पूर्वाधार सुधार गर्ने तथा सर्वसाधारणको आवागमन सहज बनाउने विषयमा आवश्यक पहलका लागि सरोकारवाला निकायसँग समन्वय गरिएको जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *