एसीसी महिला यू-१९ प्रिमियर कपका लागि नेपाली टोली घोषणा

Thankot Times

थानकोट ।

मलेसियामा हुने एसीसी महिला यू–१९ प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीको घोषणा गरेको छ ।

बुधबार सार्वजनिक गरिएको १४ सदस्यीय टोलीको नेतृत्व सोनी पाख्रिनले गर्नेछिन् । पर्सि शनिबारदेखि साउन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा नेपालसँगै हङकङ, सिङ्गापुर र कतार छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले पर्सि कतारको सामना गर्नेछ ।

त्यसपछि आउँदो आइतबार सिङ्गापुर र आगामी मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका छ । प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।

त्यसपछि क्वार्टरफाइनलका विजेताले सेमिफाइनल खेल्नेछन् भने सेमिफाइनलबाट विजयी हुने दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

टोलीमा सना प्रविन, एलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तिर्सना विश्वकर्मा, कृष्मा गुरुङ, अञ्जली पाठक, मनिषा चौधरी, स्नेहा महरा र करुणा विष्ट रहेका छन् क। यस्तै, प्रतिमा साह, प्रिसना राना मगर, साक्षी यादव र आशा चौधरीलाई वैकल्पिक खेलाडीका रूपमा समावेश गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ