करदाता प्रोत्साहन पुरस्कार: मोबाइलको कभर फेर्दा ३५० रुपैयाँ तिरेका ‘सई साब’ले जिते १० लाख
थानकोट ।
करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन् ।
आन्तरिक राजस्व विभागले अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार मन्त्रालयमा उपहार घोषणा गरेको थियो ।
साउन महिनाको दोस्रो १६ दिनको हरेक दिनको एक–एक जना र सबै सहभागीमध्येबाट छनोट गरिएको एक जनालाई बम्पर गरी १७ जना उपभोक्ता छनोट गरिएको थियो ।
त्यसैमध्ये बम्पर उपहार पुडासैनीले जितेका हुन् । उनले मोबाइलको कभर र सिसा फेर्दा तिरेको ३५० रुपैयाँको कारोबार बम्पर उपहारमा छानिएको हो ।
उनी नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण, हेटौँडामा कार्यरत छन् । अर्थ मन्त्रालयसँग कुरा गर्दै उनले मोबाइलको कभर र सिसा मर्मत गर्दा तिरेको रकममा उपहार परेको बताए ।
‘मेरो घर बाराको सिमरा हो । नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण, हेटौँडामा कार्यरत छु । मोबाइलको कभर र सिसा मर्मत गर्न दुई–तीनवटा पसल चहारेर गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा पुगेको थिएँ,’ उनले भने, ‘त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ । एकदमै खुसी लाग्यो । सबैतिरबाट बधाई आइरहेको छ । सबैलाई बिल लिन र दिन मेरो अनुरोध छ ।’
उनले सबै जनालाई सकेसम्म अनलाइनमार्फत कारोबार गर्न तथा बिल लिन र दिन आग्रह गरे ।











