रसुवा बाढीमा १३३ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन
थानकोट ।
भोटेकोसीमा आएको बाढीमा परेर विभिन्न जलविद्युत् आयोजनामा कार्यरत १३३ जनाभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार सम्पर्कविहीन हुनेमा विदेशी कामदारसमेत रहेका छन् ।
प्राधिकरणका अनुसार त्रिशूली जलविद्युत् कम्पनीअन्तर्गत निर्माणाधीन त्रिशूली– ३ बी आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन छन् ।
त्यस्तै, चिलिमे जलविद्युत् कम्पनीको चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्र आसपासका एक जना सम्पर्कविहीन छन् ।
चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत तथा त्रिशूली– ३ बी आयोजनाको साइटमा खटिएका ११ जना पनि सम्पर्कबाहिर रहेका छन् ।
चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ५१ जना सम्पर्कमा रहेको प्राधिकरणले जनाएको छ भने अन्य कर्मचारी तथा कामदार सम्पर्कविहीन छन् ।
त्रिशूली– ३ ए जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मत कार्यमा संलग्न ४५ जना कर्मचारी तथा कामदार पनि सम्पर्कविहीन भएका छन् । त्यसैगरी, प्राधिकरणअन्तर्गतको त्रिशूली जलविद्युत् केन्द्र र देविघाट जलविद्युत् केन्द्रमा कार्यरत एक–एक जना कर्मचारी सम्पर्कबाहिर छन् ।
रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे पावर हाउसको स्विचयार्डमा कार्यरत एक जना तथा सोही वितरण केन्द्रका गोटागन्तीका मिटर रिडरसमेत सम्पर्कमा नरहेको प्राधिकरणले जनाएको छ ।
त्रिशूली २२० केभी ३ बी हबमा ठेकेदार कम्पनीमार्फत कार्यरत १६ जना पनि सम्पर्कविहीन छन् । यस्तै, रसुवागढी जलविद्युत् केन्द्रमा विभिन्न ठेकेदार कम्पनीमार्फत मर्मतसम्भार तथा निर्माण कार्यमा संलग्न २९ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
कर्मचारी तथा कामदार सम्पर्कविहीन भएपछि प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठ नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुगेर अनुगमन गरेको छ । श्रेष्ठले हराइरहेकाहरूको खोज तथा उद्धारका लागि प्राधिकरणको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको बताएका छन् ।
जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्न अर्को टोलीसमेत स्थानीय क्षेत्रमा परिचालन गरिएको श्रेष्ठले बताए ।
उनका अनुसार सम्पर्कविहीन कर्मचारी तथा प्रसारण र उत्पादन संरचना क्षेत्रमा सम्पर्क स्थापित गर्ने प्रयास जारी छ । स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेका व्यक्तिहरूको विवरण संकलन गर्दै खोज तथा उद्धार कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।











