स्पोर्टस् अवार्ड २०८२- वर्ष उत्कृष्ट प्रशिक्षकमा बक्सिङका दीपक महर्जनसहित चार जना मनोनयन
थानकोट ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ का लागि चार विधाको मनोनयन सार्वजनिक भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले आइतबार २३औं संस्करणको वर्ष उत्कृष्ट पुरुष, महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो।
वर्ष पुरुष खेलाडीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य परेका छन्।
वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा करातेकी एरिका गुरुङ, सविना श्रेष्ठ र सानुमाया थिङ तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र फुटबलकी साबित्रा भण्डारी मनोनित भएका छन्।
वर्ष युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र मनिषाकुमारी बोहोरा, चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव छन्।
वर्ष उत्कृष्ट प्रशिक्षकमा बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुआर्ट ल र नेत्रहीन महिला क्रिकेटका पुरनसिंह खत्री मनोनयनमा परेका छन्।
स्पोर्टस् बिहीबार काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना हुँदै छ। वर्ष पुरुष, महिला, युवा, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्।
२०८२ सालभित्र अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शन र नतिजाको आधारमा खेलाडी र प्रशिक्षक छनोट गरिएको मञ्चका सचिव तथा खेलाडी छनोट समितिका संयोजक अनिल मल्ल ठकुरीले जानकारी दिए। छनोट समितिमा निरञ्जन राजवंशी, हिमेशरत्न बज्रचार्य, प्रजित शाक्य र विराटजंग रायमाझी छन्।
अवार्ड बाढी पीडितमा समर्पित
घोषणा कार्यक्रममा एआईपीएस एसियाका कोषाध्यक्षसमेत रहेका छनोट समितिका सदस्य निरञ्जन राजवंशीले देशमा आएको विनासकारी बाढी तथा प्राकृतिक प्रकोपमा जुझिरहेको समयमा अवार्डलाई ठूलो उत्सवका रूपमा नमाउने र मानवीय क्षतिमा समवेदना व्यक्त गर्दै २३औं संस्करण आयोजना गर्न लागेको बताए।
देश पीडामा रहेको बेला अवार्ड उत्सब मनाउने नभई खेलकुद क्षेत्र र खेलाडीको तर्फबाट यो विषम परिस्थितिमा साथ दिनु अवार्डको वास्तविक सन्देश हुने उनले बताए।
स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा फुटबलकी पूजा राना, भलिबलकी मीना सुनार, करातेकी सानुमाया थिङ, मिक्स मार्सल आर्टसका रवीन्द्र ढाँट र क्रिकेटका शेर मल्ल छन्। अन्य विधा अन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको घोषणा अवार्ड वितरणकै दिन गरिनेछ।
यो विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।











