दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन नेपालमा

Thankot Times

थानकोट ।

दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने औपचारिक भ्रमणका क्रममा शनिबार नेपाल आइपुगेका छन् ।

नेपाल भ्रमणका क्रममा उनले नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेटवार्तामा गत अगस्ट २६ मा रसुवामा आएको भीषण बाढी तथा पहिरोपछि बेपत्ता भएका दक्षिण कोरियाली नागरिकको खोज तथा उद्धारका लागि नेपालले गरिरहेको प्रयासबारे छलफल हुने बताइएको छ ।

रसुवामा आएको बाढी तथा पहिरोमा जलविद्युत् आयोजना निर्माणस्थलमा कार्यरत दक्षिण कोरियाका नौ जना नागरिक बेपत्ता भएका थिए । बेपत्तामध्ये छ जना दोसान एनर्जी र तीन जना कोरिया साउथ–इस्ट पावर कम्पनीका कर्मचारी रहेको बताइएको छ ।

विदेशमन्त्री चोले नेपाली पक्षसँग बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग र समन्वयका लागि आग्रह गर्ने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा मन्त्री चोले बेपत्ता दक्षिण कोरियाली नागरिकका परिवारसँगसमेत भेट गर्ने कार्यक्रम रहेको छ ।

साथै, उनले बाढीपहिरो प्रभावित क्षेत्रको पुनःस्थापना, राहत तथा उद्धारका प्रयास र नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्धका विविध विषयमा नेपाली पक्षसँग छलफल गर्ने बताइएको छ ।

नेपाल भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने तथा विपत्‌का समयमा आपसी सहयोग र समन्वय बढाउने अवसरका रूपमा हेरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *