चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीद्वारा काँग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
थानकोट ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली काँग्रेस चन्द्रागिरि नगरका निवर्तमान सभापति गिरीले सोमबार साँझ सामाजिक सञ्जालमार्फत पार्टीको केन्द्रीय सदस्य पदमा उमेदवारी घोषणा गरेका हुन् ।
यसैबीच नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट केन्द्रीय समितिको संख्यामा व्यापक बढोत्तरी आउने भएको छ ।
सोमबारको बन्दसत्रबाट केन्द्रीय समितिको संख्या बढाउने महामन्त्री प्रदीप पौडेलको प्रस्ताव पारित भएको छ ।
मौजुदा कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय थियो ।
अब उक्त संख्या बढाएर २९७ जना रहने बनाउन थालिएको छ ।
केन्द्रीय कार्यसमितिको संरचनामा १ सभापति, १ वरिष्ठ उपसभापति, चार उपसभापति, एक महिला तीन महामन्त्री र ११ निर्वाचित सहमहामन्त्री हुने प्रस्ताव पारित गरिएको छ ।
अब कांग्रेसमा चारजना सहमहामन्त्री सभापतिले मनोनीत हुने भएका छन् ।
यसबाहेक ६६ जना केन्द्रीय सदस्य पनि सभापतिले मनोनीत गर्ने गरी प्रस्ताव पारित भएको छ ।
यस्तै, प्रतिनिधि सभा संसदीय दलका नेता र प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुनेछन् । केन्द्रीय कार्यसम्पादन समितिमा मौजुदा ३१ जनाबाट बढाएर ४१ पुर्याइएको छ । सभापतिले कोषाध्यक्ष र प्रवक्ता पनि मनोनीत गर्ने छन् ।













