नेपाल प्रिमियर लिग-२०२६: वर्षाले प्रभावित खेलमा विराटनगर किंग्सको जित
थानकोट ।
विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जीत निकालेको छ ।
त्रिवि मैदानमा गएराति अबेर सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै विराटनगरले प्रतियोगितामा तेस्रो खेलमा पहिलो जीत निकालेको हो ।
वर्षाका कारण पाँच ओभरमा घटाइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा ३ विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि स्कट कुग्लेजिनले सर्वाधिक २८ रन बनाए । आरिफ शेखले १७ रन बनाए । सैफ जैबले १० बलमा दुई छक्कासहित १७ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरी एक रनमा आउट भए भने ओपनर शेरफाने रदरफोर्ड पहिलो बलमै आन्द्रे रसेलको बलमा बोल्ड भए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो । विराटनगरका ओपनर सेहान जयसूर्या र लोकेश बमले ६८ रनको साझेदारी गरेका थिए । जयसूर्याले ३९ रन बनाए ।
यस्तै, लोकेश बमले २५ रन जाडे । आन्द्रे रसेलले दुई चौका र दुई छक्कासहित अविजित २९ रन बनाए । सुदूरपश्चिमका अविनाश बोहराले दुई विकेट लिए । यसअघि पटक–पटकको छलफलपछि मात्रै विराटनगर र सुदूरपश्चिमबीचको खेल सञ्चालन भएको थियो । राति ९ बजेर ५ मिनेटमा टस भएको खेल ९ बजेर २० मिनेटमा शुरु भयो ।
यसअघि विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग ८ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमले भने प्रतियोगितामा दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो ।
हिजो लुम्बिनी र चितवनको खेल हुन सकेन ।
दुवै टोलीले समान एक/एक अंक बाँडेका छन् । एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच बेलुकी ५ बजे खेल हुनेछ ।











