चोरी भएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले संस्थागत अभियान चलाउने
थानकोट ।
काठमाडौँ महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ ।
यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, जनचेतना अभिवृद्धि र समुदायको क्षमता विकासलाई प्राथमिकतामा राख्ने भएको हो ।
शुक्रवार काठमाडौँ महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले हराएका तथा चोरी भएका भगवान् र सम्पदालाई घर फर्काउने अभियानलाई संस्थागत र प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् । उनका अनुसार महानगरपालिकाले यसअघि कूटनीतिक माध्यम तथा विदेशमा रहेका विभिन्न सङ्घसंस्था र समुदायसँग सहकार्य गरेर चोरी भएका सम्पदा फिर्ता ल्याउने प्रयास गर्दै आएको छ । आगामी दिनमा यस्ता प्रयासलाई थप औपचारिक र व्यवस्थित बनाइनेछ ।
सम्पदा संरक्षण गर्नु भनेको भएका सम्पदाको भौतिक संरक्षण मात्रै नभई चोरी तथा अवैध ओसारपसार रोक्नु पनि भएको डंगोलको भनाइ छ । विदेशका विभिन्न सङ्ग्रहालयमा नेपाली सम्पदा रहेको जानकारी प्राप्त भए पनि ती सम्पदा कहाँबाट चोरी भएका हुन् भन्ने प्रमाण जुटाउन कठिन हुने गरेको उनले सुनाइन् । यसका लागि महानगरले सम्पदाको विस्तृत अभिलेखीकरण, तस्बिर, श्रव्यदृश्य सामग्री तथा आवश्यक विवरण सुरक्षित राख्नुपर्नेमा जोड दिएको छ ।
विगतका केही अभ्यासले एउटा तस्बिरकै आधारमा चोरी भएको सम्पदाको वास्तविक स्थान पहिचान गरी फिर्ता ल्याउन र पुनःस्थापना गर्न सहयोग पुगेको डंगोलले उल्लेख गरिन् । उनले महागौरीको मूर्ति फिर्ता ल्याएर पुनःस्थापना गर्दाको उदाहरण दिँदै सम्पदाको पहिचान र प्रमाणीकरणमा तस्बिरको महत्त्वपूर्ण भूमिका हुने बताइन् । कतिपय अवस्थामा कुन ठाउँको सम्पदा हो भन्ने जानकारीसमेत नहुने भएकाले व्यवस्थित अभिलेखीकरण आवश्यक रहेको उनको ठम्याइ छ ।
हराएका धार्मिक सम्पदाबारे प्रहरीमा उजुरी दिने अभ्यास पनि उत्तिकै महत्त्वपूर्ण रहेको डंगोलले औंल्याइन् । मानिस हराउँदा प्रहरीमा उजुरी गर्ने प्रचलन भए पनि भगवान् तथा धार्मिक सम्पदा हराउँदा प्रहरीमा औपचारिक जानकारी गराउने अभ्यास विगतमा कम रहेको उनले बताइन् । तलेजु भवानीको हार फिर्ता ल्याउने प्रयासका क्रममा प्रहरीमा गरिएको उजुरीको प्रमाण मागिएको तर त्यसबेला उजुरी गर्नुपर्छ भन्ने चेतना नै नभएका कारण आवश्यक प्रमाण जुटाउन कठिन भएको उनले उदाहरण दिइन् । यस्ता घटनाले सम्पदा चोरी हुँदा तत्काल प्रहरीमा उजुरी दिनुपर्ने विषयमा जनचेतना फैलाउनुपर्ने आवश्यकता देखाएको उनको भनाइ छ ।
‘काठमाडौँ महानगरपालिकाले चोरी भएका तथा विदेशमा पुर्याइएका नेपाली सम्पदाहरू पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप प्रभावकारी बनाउन समझदारीपत्रमा हस्ताक्षर गरेको छ,’ डंगोलले भनिन्, ‘यसका लागि कूटनीतिक माध्यम, अन्तर्राष्ट्रिय सङ्घसंस्था र विदेशस्थित समुदायसँगको सहकार्यलाई थप व्यवस्थित बनाइनेछ ।’
सम्पदा संरक्षण भनेको विद्यमान सम्पदाको संरक्षण मात्र नभई चोरी तथा अवैध ओसारपसार रोक्नु र विदेशमा रहेका सम्पदालाई पहिचान गरी आफ्नै स्थानमा पुनःस्थापना गर्नु पनि रहेको उनले दोहोर्याइन् । ‘यसका लागि सम्पदाको अभिलेखीकरण, फोटो तथा भिडियो संकलन र हराएका सम्पदाबारे प्रहरीमा औपचारिक उजुरी गर्ने अभ्यासलाई प्रोत्साहन गरिनेछ,’ उनले थपिन्, ‘एउटा पुरानो तस्बिरकै आधारमा महागौरीको मूर्ति पहिचान गरी फिर्ता ल्याउन र पुनःस्थापना गर्न सम्भव भएको उदाहरणले अभिलेखीकरणको महत्त्व पुष्टि गरेको छ ।’
महानगरले सम्पदा संरक्षणसम्बन्धी जनचेतना अभियान आफ्नै जनप्रतिनिधि र कर्मचारीबाट सुरु गर्ने भएको छ । त्यसपछि नगर प्रहरी, फिल्डमा खटिने कर्मचारी, गुठी, सङ्घसंस्था, टोल सुधार समिति तथा स्थानीय समुदायसम्म अभियान विस्तार गरिने डंगोलले बताइन् ।
विशेषगरी सम्पदा संरक्षणका क्रममा सामान्य प्राविधिक ज्ञानको अभावमा पनि क्षति पुग्न सक्ने भएकाले फिल्डमा काम गर्ने कर्मचारीलाई आवश्यक तालिम दिनुपर्ने उनको भनाइ छ । कुन सम्पदामा कसरी रङ लगाउने, कहाँ चुनाको प्रयोग गर्ने वा नगर्ने, चैत्यको संरचना र धार्मिक महत्त्व के हो भन्ने विषयमा समेत कर्मचारीलाई स्पष्ट जानकारी दिनुपर्ने उनले सुझाइन् ।
सम्पदा संरक्षणमा स्थानीय समुदायको स्वामित्व र सक्रियता सबैभन्दा महत्त्वपूर्ण हुने उल्लेख गर्दै डंगोलले निगरानीका लागि सीसीटीभी क्यामेरा मात्रै पर्याप्त नहुने स्पष्ट पारिन् । सम्पदा रहेको क्षेत्रका स्थानीय बासिन्दा नै सचेत र जिम्मेवार भए संरक्षणको काम प्रभावकारी हुने उनको विश्वास छ । महानगरपालिकाले यसका लागि समुदायको क्षमता अभिवृद्धि कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ ।
प्राविधिक ज्ञान भएका विज्ञ तथा सम्पदा संरक्षणमा क्रियाशील संस्थाको सहयोग लिएर महानगरका कर्मचारी र समुदायलाई प्रशिक्षित गरिनेछ । सम्पदा संरक्षणका क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको नमूना फाउन्डेसनसँगको सहकार्यलाई पनि महानगरले महत्त्व दिएको छ । कार्यवाहक प्रमुख डंगोलले फाउन्डेसनबाट आगामी दिनमा थप प्राविधिक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् ।
सम्पदा संरक्षणलाई नीतिगत दस्तावेज र सम्झौतामा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्ने डंगोलको जोड छ । चोरी भएका सम्पदा पहिचान गर्ने, अवैध ओसारपसार रोक्ने, विदेशबाट फिर्ता ल्याउने, आफ्नै मौलिक स्थानमा पुनःस्थापना गर्ने र पुनःस्थापित सम्पदालाई सुरक्षित राख्ने काम चरणबद्ध रूपमा अघि बढाइने उनले बताइन् ।
‘समझदारीपत्रअनुसार महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी तथा फिल्डमा काम गर्ने जनशक्तिलाई सम्पदा संरक्षणसम्बन्धी तालिम र जनचेतना प्रदान गरिनेछ,’ उनले भनिन्, ‘साथै गुठी, सङ्घसंस्था, टोल सुधार समिति र स्थानीय समुदायको क्षमता अभिवृद्धि गरी सम्पदा संरक्षणमा सामुदायिक अपनत्व र सहभागिता बढाइनेछ ।’
उनले प्राविधिक संस्थाहरूको सहयोग लिएर सम्पदा संरक्षणका सही विधि र प्रक्रियालाई व्यवहारमा लागू गरिने जानकारी दिइन् । ‘चोरी भएका सम्पदालाई स्वदेश फिर्ता ल्याउने, पुरानै स्थानमा पुनःस्थापना गर्ने र दीर्घकालीन रूपमा सुरक्षित राख्ने लक्ष्यसहित महानगरपालिकाले यस अभियानलाई संस्थागत र चरणबद्ध रूपमा अघि बढाउने जनाएको छ,’ डंगोलले भनिन् ।
महानगरले सम्पदा संरक्षणको अभियानमा नगर प्रहरीको भूमिका पनि विस्तार गर्ने जनाएको छ । यसअघि कार्यान्वयनमा रहेको ‘सम्पदा नगर प्रहरी’ अवधारणालाई थप व्यापक बनाउँदै सम्पदाको सुरक्षा र निगरानीमा नगर प्रहरीलाई परिचालन गरिने डंगोलले बताइन् । महानगरको यो पहलले काठमाडौँ उपत्यकाबाट चोरी भई विदेश पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको पहिचान, अभिलेखीकरण र स्वदेश फिर्तीका लागि संस्थागत आधार तयार गर्ने अपेक्षा गरिएको छ ।











