मधेश प्रदेशका मुख्यमन्त्रीबाट राजीनामा

Thankot Times

थानकोट ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन् ।

गठबन्धनका दुई दल एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिने कार्यक्रम रहेकोमा विश्वासको मत पाउने सम्भावना नरहेपछि उनले प्रदेशसभाको बैठकमा आफ्नो मन्तव्य राख्दै पदबाट राजीनामा दिएका हुन् ।

कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका चार मन्त्रीले गएको असोज २५ गते र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का चार जना मन्त्रीले कात्तिक २० गते राजीनामा दिएका हुन् ।

दुवै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले राजीनामा दिनुपरेको हो ।

प्रदेश सभाको दोस्रो कार्यकालमा संसद् बैठकबाटै राजीनामा गर्ने यादव ५औँ मुख्यमन्त्री बनेका हुन् ।

यसअघि, एमालेका सरोजकुमार यादवले विश्वासको मत लिने क्रममा राजीनामा दिएका थिए । उनीअघि जितेन्द्र सोनलले पनि विश्वासको मत लिने क्रममै राजीनामा दिनुपरेको थियो ।

सोनलअघि जनमत पार्टीका सतिशकुमार सिंहले विश्वासको मत जुटाउन नसक्दा पद त्याग्नुपर्‍यो भने जसपा नेपालका सरोजकुमार यादव पनि विश्वासको मत लिन नसक्दा स्वतः पदमुक्त भएका थिए ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

प्रदेश सभामा कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् ।

त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक सदस्य छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *