बालेन नेतृत्वको सरकारलाई २०८४ सालको नयाँवर्ष देख्न नदिने महेश बस्नेतको उद्घोष

Thankot Times

थानकोट ।

नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार लामो समय टिक्न नसक्ने दाबी गर्दै आगामी नयाँ वर्षसम्म सरकारलाई टिक्न दिन नहुने बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै बस्नेतले सरकारविरुद्धको राजनीतिक आन्दोलनलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि आवश्यकताअनुसार अन्य राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ ।

उनले वर्तमान सरकारमा सहकारी ठगीलगायत आपराधिक गतिविधिमा संलग्न दल र नेताहरूको सहभागिता रहेको आरोप लगाए । युवाहरूले सरकारलाई ‘खरानी ग्याङ’को संज्ञा दिएको उल्लेख गर्दै उनले यस्तो सरकारको आयु लामो नरहने दाबी गरे ।

बस्नेतले सरकारका अलोकतान्त्रिक गतिविधि प्रविधिको माध्यमबाट आम नागरिकमाझ पुर्‍याउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।

सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन एमालेको संगठनात्मक संरचना थप सुदृढ गर्नुपर्ने उनको भनाइ थियो ।

उनले स्थानीय कमिटीहरूलाई मजबुत बनाउँदै स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको तयारीमा जुट्नुपर्ने बताए ।

एमालेले अन्य राजनीतिक दलसँग आवश्यकताअनुसार सहकार्य गर्दै आन्दोलनलाई व्यवस्थित बनाउने, संगठन विस्तार गर्ने र आगामी निर्वाचनलाई लक्षित गरेर अघि बढ्ने बस्नेतले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *