नागढुंगा-नौबिसे सुरुङभित्र भीषण पहिरो, आयोजना निर्धारित समयमा सम्पन्न हुनेमा आशंका
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा निर्माणाधीन नागढुंगा-नौबिसे सुरुङ मार्गमा फिनिसिङ भइसकेको खण्डमा करिब एक सय मिटर आन्तरिक पहिरो (इन्टर्नल टनेल स्कुजिङ) गएको छ।
आयोजनाका अनुसार यसअघि नै सुरुङ खनेर फिनिसिङ गरिसकेको मुख्य सुरुङ मार्ग र वैकल्पिक (इभाक्युसन) तर्फ गरी करिब एक सय मिटर आन्तरिक पहिरो गएको हो।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका डेपुटी प्रोजेक्ट डाइरेक्टर माधवप्रसाद अधिकारी निर्माणाधीन सुरुङ मार्गमा स्कुजिङ (आन्तरिक पहिरो) गएकाले निर्माण अवधि केही समय लम्बिने बताउँछन्। ‘पहिला सुरुङ खनेर फिनिसिङ गरिसकेको ठाउँमा एक सय मिटरजति इन्टर्नल पहिरो गएको छ,’ उनले भने, ‘फिनिसिङ गरिसकेको भागमा पहिरो गएकाले सुरुङको साइज बढेको छ। यसअघि राखेको सपोर्ट सिस्टम कामै नलाग्ने भएको छ। त्यसैले पनि अब नयाँ सपोर्टिङ सिस्टम राखेर सुरुङलाई जोगाउनुपर्ने अवस्था आएको छ।’
अधिकारीले पहिरो गएको खण्डको सुरुङको सपोर्टिङ सिस्टमका लागि आवश्यक उपकरण तथा निर्माण सामग्री थाइल्यान्डबाट मगाउनुपर्ने भएकाले केही समय लाग्ने बताए। ‘निर्माण कम्पनीले थाइल्यान्डबाट उपकरण तथा निर्माण सामग्री मगाएर आवश्यक सपोर्टिङ सिस्टम तयार पार्नुपर्ने हुन्छ,’ उनले भने, ‘यसका लागि निर्माण कम्पनीले आवश्यक उपकरण तथा निर्माण सामग्रीको आयात र अन्य प्रक्रिया पूरा गर्न केही समय बढी लाग्ने देखिन्छ।’
अधिकारीले सुरुङ मार्गमा आन्तरिक समस्या आएसँगै तोकिएको समयसीमाभित्रै सुरुङमार्ग निर्माण सम्पन्न नहुने सम्भावना बढेको बताएको नागरिक न्यूजमा समाचार छ । ‘आन्तरिक पहिरो गएसँगै आयोजनाको म्याद अनौपचारिक रूपमा ९-१० महिना थप गर्नुपर्ने निर्माण कम्पनीको भनाइ छ। अहिलेसम्म आधिकारिक रूपमा महिना तोकेरै यति थप गर्न भनेर निवदेन दिएको अवस्था छैन,’ उनले भने, ‘निर्माण कम्पनीबाट आवश्यक क्षतिको अध्ययन गरेर सम्भवतः छिट्टै म्याद थप गर्न प्रस्ताव हुनेछ।’












