गायक प्रमोद खरेल र बादल थापा लेबनान अध्यागमनको नियन्त्रणमा, २० घण्टापछि छाडियो
थानकोट ।
सांस्कृतिक कार्यक्रमका लागि साइप्रस हिंडेका गायकद्वय प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले नियन्त्रणमा लिएर छाडेको छ ।
उनीहरुलाई अध्यागमनले २० घण्टा नियन्त्रणमा लिएको हो । उनीहरुको भिसामा शंका लागेपछि राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थल अध्यागमनका कर्मचारीले शनिबार राति नियन्त्रणमा लिएका थिए ।
उनीहरु साइप्रस नपुग्दा त्यहाँ नेपाली समुदायले आयोजना गरेको कल्चरल म्युजिक प्रोग्राम इन साइप्रस स्थगित भएको छ । कोष ओभरसिज प्रालि र एसएम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुसनले कार्यक्रम आयोजना गरेका थिए ।
आयोजकमध्येका केही व्यक्तिले कार्यक्रम रोकिएको बारेका खबरलाई फेसबुकमा पनि सेयर गरेका छन् । अध्यागमनले रोकेपछि केही दिनमा आफूहरु नेपाल फर्किन लागेको गायक थापाले बताए ।














