थापाथलीस्थित सुकुम्बासी बस्तीमा झडप, नगर प्रहरी प्रमुखसहित ३६ घाइते

Thankot Times

थानकोट । 

थापाथलीको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा सुकुम्बासीको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३६ प्रहरी घाइते भएका छन्।

घाइतेमध्ये ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको घाइतेका उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य केसीले बताए।

उनका अनुसार धेरै घाइतेको टाउकोमा चोट छ।

‘घाइतेमध्ये धेरैको टाउकोमा चोट छ,’ उनले भने, ‘टाउकोमा सात टाँकासम्म लगाउनु परेको छ। टाउकोबाहेक छाती, ढाड र खुट्टामा चोट लागेका धेरै हुनुहुन्छ।’ 

उनीहरूमध्ये तीन जनाको भने आइसियुमा उपचार भइरहेको महानगरले जनाएको छ।

नगर प्रहरी शर्मिला बोगटीलाई शरीर बन्धक बनाई घाइते बनाएको पनि महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। यस घटनाको नेतृत्व गर्ने तथा संलग्न भएका व्यक्तिहरूको नाम समेत खुलाएर जिल्ला प्रहरी  परिसर काठमाडौंमा पत्र पठाएको उनले बताए।

मंसिर ४ गतेभित्र नदी किनारामा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो। 

स्थानीयले ढुंगा प्रहारसँगै टायर बालेर प्रदर्शन गरेका थिए । 

यसैबीच महानगरप्रमुख बालेन्द्र शाहले सोमबार साँझ अस्पताल पुगी घाइतेहरूको अवस्था बुझ्नुभएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *