दशौं राष्ट्रिय खेलकुदः बागमतीका पदक विजेतालाई १ लाख पुरस्कार
थानकोट ।
बागमती प्रदेश सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने भएको छ ।
प्रदेश खेलकुद विकास परिषद्को शनिबार बसेको २६ औं विस्तारित बोर्ड बैठकले स्वर्ण पदक विजेतालाई १ लाख, रजतलाई ७५ हजार र कास्यलाई ५० हजार रुपियाँ दिने निर्णय गरेको हो ।
दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुँदैछ ।
परिषद्का सदस्यसचिव दीपक लामाका अनुसार बागमतीले प्रतियोगिताका २२ खेलमा सहभागिता जनाउनेछ । जिल्लास्तरीय खेलाडी छनौट तत्काल सुरु गरी छनौट भएका खेलाडीलाई क्लोजक्याम्पमा राखेर प्रशिक्षण दिइनेछ । बैठकले हेटौंडा–६, गौरीटारमा सिन्थेटिक ट्रयाक र ३ हजार दर्शक क्षमताको बहुउद्धेश्यीय कभर्डहल निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान गर्ने निर्णयसमेत गरेको छ ।













