तापक्रम क्रमिक रुपमा घट्दै, चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह
थानकोट ।
हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम (विन्टर सिजन) सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालमा तत्कालै अन्य किसिमको मौसमी प्रणाली विकसित हुने देखिएको छैन्। यद्यपि, ‘पोष्ट’ मनसुनको अन्त्यमा आइसकेको र ‘विन्टर’ पनि सुुरु हुनेक्रममा रहेकाले चिसो क्रमशः बढ्नेछ। “चिसो बढिरहेको छ, पहाडी र हिमाली भेगमा आंशिक बदलीको सम्भावना छ, तर वर्षा या हिमपातको सम्भावना छैन्”, मौसमविद् श्रेष्ठले भने।
नेपालमा सामान्यतयाः डिसेम्बर १ देखि फेब्रुअरी अन्तिमसम्मको अवधिलाई जाडो मौसम मानिन्छ। काठमाडौँ उपत्यकामा बिहानीपख हल्का हुस्सु÷कुहिरो लाग्ने गरेकाले पछिल्ला दिनमा बढी चिसो महशुस गरिएको छ। बिहान केही समय कुहिरो लागे पनि एक देखि दुई घण्टामा उक्त कुहिरो हटेर पारिलो घाम लाग्ने गरेको छ। दिनभर घाम लाग्ने र रातमा आकाश खुला हुने भएकाले पनि चिसो बढिरहेको मौसमविदको भनाइ छ।
चिसो बढेसँगै सतर्कता अपनाउन चिकित्सकको आग्रह छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै तराई भू-भागमा हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।












