कलंकीमा ट्राफिक प्रहरीको विशेष यान्त्रिक जाँच, ४९ वटा सवारी साधन कारबाहीमा

Thankot Times

थानकोट । 

ट्राफिक प्रहरीले सोमबार काठमाण्डौको चुच्चेपाटी र कलंकीमा गरेको सवारी साधनको विशेष यान्त्रिक जाँचका क्रममा ४९ सवारीसाधन कारबाहीमा परेका छन् । 

सोमबार दिउँसो गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका बस, माईक्रोबस, पानी ट्याङकर, मिनी ट्रक र पिकअप भ्यान लगायतका ४९ वटा सवारी साधनका चालकलाई कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ । 

सोमबार दिउँसो २ सयवटा सवारी साधन चेकजाँच गर्दा ब्रेकको अवस्था ठिक नभएका, वाईफर ठिक नभएका, लाईटहरु नभएका र टायर धेरै घिसिएका ४९ वटा सवारी साधनलाई कारबाही गरिएको  महानगरीय ट्राफिक कार्यालयले जनाएको छ । 

ट्राफिक प्रहरीले अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले संभावित जोखिम कम गर्न समय-समयमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा सवारी साधनको यान्त्रिक अवस्था चेकजाँच गर्दै आएको छ ।

अवस्था ठिक भएका सवारी साधन मात्रै संचालन गरी ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुहुन सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय सह-प्रवक्ता एंव प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले अनुरोध गरेका छन् । 

त्यस्तै, सोमबार नै ट्राफिक प्रहरीले तिब्र गतीमा सवारी साधन चलाउने ३९ जना चालकलाई पनि कारबाही गरेको छ । ललितपुरको सानेपा र भक्तपुरमा गरिएको चेकिङमा तोकिएको गति भन्दा बढी गतिमा सवारी साधन चलाएका चालकलाई कारवाही गरेको हो । साथै बम्पर गार्ड ननिकालिएका ११८ वटा सवारी साधनलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *