काभ्रेमा व्रतबन्धबाट फर्किएका यात्रु चढेको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु, २१ जना घाइते

Thankot Times

थानकोट ।

व्रतबन्धमा सहभागी भएर फर्किएका यात्रु चढेको बस मंगलबार साँझ काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक- ४ स्थित चलाल गणेशस्थानमा दुर्घटना हुँदा १८ जनाको यात्रीको मृत्यु भएको छ । २१ जना यात्री घाइते भएका छन् ।

बसमा ३९ यात्रु थिए ।

घाइतेको धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । १३ जनाको दुर्घटनास्थलै र पाँचको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो ।

बा.३ख ४३८५ नम्बरको बस बेथानचोक-४ चलाल गणेशस्थानमा दुर्घटनामा परेको हो । तीव्र गतिमा गुडिरहेको बस मोडको भित्तामा ठोक्किएर सडकबाट खसेको एक प्रत्यक्षदर्शीले बताए । बसमा बेथानचोक-५ च्याल्टीमा व्रतबन्ध (छेवर)मा सहभागी भएर फर्किएका बनेपा- ११ सल्लेका यात्रु थिए ।

आफन्तको व्रतबन्धमा धेरैजना जानुपर्र्ने भएकाले मंगलबार बिहान बस रिजर्भ गरेर बनेपा-११ सल्लेबाट उनीहरू च्याल्टीतर्फ गएका थिए । काभ्रेका प्रजिअ पाण्डेले भनिन्, ‘बसमा व्रतबन्धमा सहभागी भएर फर्किएकाहरू धेरै परेको जानकारी पाइएको छ । तर, मृत्यु भएकाको पहिचान खुलिसकेको छैन् ।’

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले दुर्घटनालगत्तै स्थानीय उद्धारमा जुटेको जानकारी दिए । लगत्तै पुगेका सुरक्षाकर्मीसमेतले घाइतेलाई उद्धार गरी शिर मेमोरियल र बनेपा अस्पताल पठाएका थिए । दुईवटा डोजरको प्रयोग गरेर बसमा च्यापिएका घाइते र शव निकालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । ठूलो संख्यामा हताहती र घाइते भएकाले पूर्ण विवरण आउन समय लागेको उनको भनाइ छ ।

शिर मेमोरियल अस्पतालमा एकाएक घाइतेहरू ल्याइपुर्‍याइँदा चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई भ्याइनभ्याई भएको थियो । एकपछि अर्को गर्दै घाइते थपिएपछि स्वास्थ्यकर्मी हस्याङफस्याङमा देखिन्थे । बेड अभाव हुँदा केहीलाई भुइँमै राखेर उपचार गरिएको थियो । नयाँ पत्रिकामा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ