एक महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन हुँदै
थानकोट ।
मंसिर महिनामा नियन्त्रणमा लिएका ६० वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बलमा राखिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारीचालक अनुमति पत्रलाई निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू पाँच (पाँचपटकभन्दा बढी उल्लंघन गरेको) पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारीचालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
निलम्बनका लागि पठाइएका सबैभन्दा धेरै कारबाहीमा एक जना ४४ पटक, एक जना ३५ पटक कारबाही, तीन जना २४ पटक, एक जना १४ पटक , सात जना १२ पटक, दुई जना सातपटक र ४५ जना छपटक गरी ६० जनाको सवारीचालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाइएको हो ।
सवारी दुर्घटनामा परेका अधिकांश सवारीचालक अघि पनि पटक-पटक कारबाहीमा परेको देखिएको भट्टले जानकारी दिए ।














