घरमै कुहिने फोहोर व्यवस्थापन गराउन सहुलियत दरमा कम्पोष्ट बिन दिँदै काठमाडाैं महानगर

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले घरमै कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सहुलियत दरमा कम्पोष्ट बिन वितरण सुरू गरेको छ।

स्थानीय बासिन्दाले आफ्नो घरको जैविक फोहोरबाट कम्पोष्ट मल बनाएर प्रयोग गर्न सकुन् भनेर यो कार्यक्रम कार्यान्वयन गरिएको महानगरपालिकाको वातावारण विभागकी उपनिर्देशक सरिता राईले जानकारी दिइन्।

‘कतिपय मानिसले आफ्नै घरको बगैंचामा फलफूल रोप्नुहुन्छ,’ उनले भने, ‘बगैंचाका लागि मल किन्नुहुन्छ। उहाँहरूले आफ्नो बगैंचालाई चाहिने मल घरकै जैविक फोहोर कुहाएर आफैं उत्पादन गर्न सक्नुहुन्छ। यसका लागि महानगरले सहुलियत दरमा कम्पोष्ट बिन वितरण गरिरहेको छ।’

सहुलियत दरमा कम्पोष्ट बिन वितरण गर्ने भनी मंसिर २३ गते गोरखापत्रमा सूचना जारी गरिएको उनी बताउँछिन्।

उनका अनुसार महानगरले ८८४ वटा बिन ल्याएको थियो। यसका लागि ४० लाख रूपैयाँ बजेट बिनियोजन गरिएको थियो।

‘चार हजार पर्ने बिन १५ सय रूपैयाँमा दिइरहेका छौं,’ उनले भने, ‘गुणस्तरको कुरा गर्ने हो भने बाहिर पाइनेभन्दा कुनै दृष्टिले कम छैन।’

क्त बिन महानगरको वातावरण विभाग टेकुबाट वितरण भइरहेको छ। बिन लिन इच्छुक व्यक्तिले टेकु आएर लिन सक्ने उनले बताइन्। सेतोपाटीमा खबर छ।

अहिलेसम्म २५ प्रतिशत बिन वितरण भइसकेको र नसकुन्जेल कार्यक्रम जारी रहने महानगरले जनाएको छ। पहिलो चरणमा भण्डार गर्ने ठाउँको कमीले कम बिन ल्याइएको हो।

‘अहिले राख्ने ठाउँको कमीले थोरै ल्याएका छौं,’ उनले भनिन्, ‘त्यसैले विभागबाट मात्रै वितरण गरिरहेका छौं। एकमुष्ट माग आएको खण्डमा वडा-वडामा पुर्‍याएर त्यहीँबाट वितरण व्यवस्था मिलाउने योजना छ।’

यसपालि परीक्षणका रूपमा लागू गरिएको यो कार्यक्रममा स्थानीयको राम्रो प्रतिक्रिया अर्को वर्ष पुनः वितरण गरिने उनले बताइन्।

विभागले बिनसँगै त्यसमा प्रयोग गर्न चाहिने औजार पनि दिइरहेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ