११ पुसदेखि अव्यवस्थित तार हटाउने तयारीमा विद्युत प्राधिकरण
थानकोट ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले मंगलबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको छ ।
प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर तथा पोलमा जथाभावी झुण्ड्याइएका उपकरण हटाउने छ ।
प्राधिकरणले त्यस प्रकारका तार गत १८ मंसिर १८ हटाउने जानकारी गराएको थियो । प्राधिकरणको आग्रह बमोजिम सेवा प्रदायक संस्थाले सूचना बमोजिमको व्यवस्थापन कार्य नभएको पाइएकाले अब ११ पुसदेखि आफैं हटाउने भएको हो ।
प्राधिकरणले त्रिपुरेश्वर सुन्धारा, रत्नपार्क, केशरमहल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोकदेखि बूढानीलकण्ठसम्मको अव्यवस्थित तार आफैं हटाउने भएको हो ।
रासस












