चन्द्रागिरि नगरका सेतो नम्बरप्लेट भएका मोटरसाइकलमा जिपिएस ट्रयाकिङ उपकरण जडान
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगरपालिका मातहतमा रहेका सबै खाले सवारी साधनहरूमा जिपिएस ट्रयाकिङ उपकरण जडान गर्न सुरू गरेको छ ।
नगरले नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले प्रयोग गर्ने सरकारी सवारी साधनहरुमा सोमबारबाट जि.पि.एस ट्रयाकिङ उपकरण जडान गर्न थालेको हो ।
कार्यालय समयमा कर्मचारीको वस्तुस्थितिको पहिचान गरी सेवाग्राहीलाई सेवा प्रवाहमा चुस्तता ल्याउने उद्देश्यले सो ट्रयाकिङ उपकरण जडान सुरू गरिएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । यो उपकरणको जडानसँगै सार्वजनिक बिदाको दिनमा बिना अनुमति सरकारी सवारी साधनको प्रयोगमा कमी हुने आपेक्षा लिएको उहाँले बताउनुभयो ।
नगरप्रमुख गिरीले समग्र नगरको प्रोफाइल डिजिटाइज्ड भइसकेको समेत जानकारी दिनुहुँदै छिट्टै नै डेडिकेटेट मोबाइल एप्लीकेशन मार्फत आम नगरबासीहरूले आफ्नो मोबाइलबाट नै नगरबाट प्रवाह हुने सूचना, नगरबाट लिनुपर्ने सेवाहरूको जानकारी लगायत प्राप्त गर्ने सुविधा सुरू हुन लागेको समेत बताउनुभयो ।
चन्द्रागिरि नगर मातहत हाल दमकल, ट्रिपर, जिप, मोटरसाइकल लगायतका सवारीसाधनहरू सञ्चालनमा रहेका छन् ।
जसमध्ये तत्काल नगरमा रहेका ४३ मध्ये २५ वटा मोटरसाइकलमा सो उपकरण जडान गरिएको छ भने बाँकी मोटरसाइकल तथा सवारी साधनमा क्रमश ट्रयाकिङ उपकरण जडान हुने बताइएको छ ।












