बालुवा नपाएपछि नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग खन्ने काम ठप्प
थानकोट ।
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको काम ठप्प भएको छ ।
शिलान्यास भएको करिब ३९ महिनामा करिब ४८ प्रतिशत काममात्रै सकिएको अवस्थामा बालुवा अभाव भएपछि सुरुङमार्गको काम रोकिएको हो ।
२० पुसमा गृह मन्त्रालयले अवैध क्रसरहरु बन्द गर्न निर्देशन दिएपछि सुरुङमार्ग खने लगत्तै भित्तामा फ्याक्नुपर्ने बालुवाको अभाव भएको छ । क्रसरमा धोएको बालुवा अभावले सुरुङमार्ग खन्ने काम नै रोकिएकाले आयोजाको निर्माणमा थप ढिलाइ हुने अवस्था आएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताएको अनलाइन खबरमा समाचार छ ।
‘ठेकेदार कम्पनीले आपत्ति जनाएको छ, काम नै रोक्नुपर्ने अवस्था आउँदा पनि हामीले केही गर्न सकेनौं’ उनी भन्छन् ।
४२ महिनाभित्र सक्ने गरी ४ कात्तिक २०७६ मा सुरुङमार्ग आयोजना निर्माण सुरु भएपनि मुआब्जासहित पूर्वतयारीको काममा भएको ढिलाइले आयोजना निर्धारित समयमा नसकिने निश्चित भइसकेको छ ।
लक्ष्यअनुसार काम हुने हो भने अबको ४ महिना अर्थात् आगामी वैशाखभित्र आयोजनाको काम सकिनुपर्छ । तर, अहिले मुख्य सुरुङमार्गको काम नै ठप्प भएको छ ।
मुख्य संरचनाको काम नै धेरै बाँकी रहेकाले आयोजना तोकिएको समयमा भन्दा पछि धकेलिने निश्चित भइसकेको छ । उद्घाटन गर्नुपर्ने सयममा आयोजनामा करिब आधा मात्रै काम सकिने अवस्था छ ।
पुससम्म मूल सुरुङमार्ग र त्यसका सहायक सुरुङमार्ग खण्ड खन्ने काम करिब ७३.५ प्रतिशत सकिएको सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजनाका अनुसार मुख्य सुरुङमार्गको २ हजार ६८८ मिटर मुख्य सुरुङमार्गमध्ये करिब १ हजार ८०० मिटर सुरुङ खनिएको छ ।
वर्किङ अडिटको पुरै १२६ मिटरको काम सकिएको छ । वर्किङ पासेज १२८ मिटरमध्ये ७४.२ मिटर मात्रै निर्माण भएको छ । आयोजनाले साढे ९ सय मिटरभन्दा बढी सुरुङमा कंक्रिट लाइनिङ गरेको छ ।
३ वटा अन्डरपासको निर्माण सकिएको छ, ४ वटा बक्स कल्भर्ट बनेको छ । एउटा ओभरपास र ३ वटा पुल पनि तयार भइसकेका छन् ।