थानकोट क्षेत्रमा फेसबुक स्क्यामर सक्रिय, फर्म भर्ने बहानामा कसैले मोबाइल नं. मागेमा नदिनुस

Thankot Times

थानकोट ।

सामाजिक सञ्जाल फेसबुकमा अनाधिकृत पहुँच बनाउने क्रम बढेको छ । सोमबार थानकोट क्षेत्रमा यो समस्या देखिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बताएका छन् ।

सवारी चालक अनुमति पत्र प्राप्तिका लागि फाराम भर्न मोबाइल नं. माग्दै आफ्नो फेसबुकमा अनाधिकृत पहुँच बनाएको पिडितहरूले बताएका छन् ।

सोमबार यस क्षेत्रका फेसबुक प्रयोगकर्ताको खातामा प्रवेश गरी फेसबुकमा साथी भएकाहरूसँग समस्या देखाइ पैसा मागेको, सवारी चालक अनुमति पत्रको फाराम भर्न मोबाइल नं. मागेको र कोड पठाउनका लागि मोबाइल नं. माग्दा सोही मोबाइल नं. प्रयोग गरी फेसबुकमा पहुँच बनाएको घटना सार्वजनिक भएका छन् ।

कतिपयले चिनजान भएकै व्यक्तिले फेसबुकमा पैसा सापट मागेको बताएका छन् । जुन वास्तविक व्यक्तिले नभइ स्क्यामरले पठाएको बुझिएको छ । 

फेसबुक स्क्यामरबाट बच्ने कसरी ?  

तपाईंले चिनेकै साथी वा परिवारजन कसैले फेसबुक वा अन्य अनलाइनका माध्यमबाट रकम मागेको खण्डमा पठाउन हतारो नगर्नुहोस् । च्याट गर्दा ‘स्क्यामर’ले निकै चलाखी गर्ने गरेका हुन्छन् ।

उनीहरूले फेसबुक आईडी आफ्नो हातमा लिएर तपाईंसँग भएको च्याट निकै ध्यानपूर्वक पढ्छन् । जसबाट तपाईंसँग कसरी कुराकानी गर्ने भन्ने शैली थाहा हुन्छ । यसरी च्याट गर्दा तपाईंलाई सकेसम्म कुनै पनि हिसाबले शङ्का गर्ने ठाउँ नै बाँकी राख्दैनन् ।

अर्थात सम्बन्धित व्यक्तिले नै च्याट गरिरहेको जस्तो लाग्छ । त्यसैले यदि कसैले तपाईंलाई फेसबुक वा अन्य म्यासेजिङ एपमार्फत कुनै बहानामा अनलाइनमा रकम माग्छ भने एक पटक फोन गरेर सम्बन्धित व्यक्तिसँग बुझ्नुहोस् ।

अनि मात्र पैसा पठाउने वा नपठाउने निधो गर्नुहोस् । अनि अर्को कुरा इन्टरनेट प्रयोग गर्दा जथाभावी लिङ्कमा क्लिक गर्ने वा आएको लिङ्क तथा कोड अरुलाई फरवार्ड गर्ने गल्ती पनि नगर्नुहोस् ।

‘H29Q+Fsn4Sr’ कोड सहितको म्यासेज आएको खण्डमा कसैलाई फरवार्ड नगर्नुहोस्, बरु यसलाई सकेसम्म तुरुन्तै डिलिट गर्नुहोस् । किन भने यसबाट तपाईंको फेसबुक अकाउन्टमा साइबर अपराधीले पहुँच बनाउएर पासवर्ड नै परिवर्तन गर्न सक्छ ।

लिङ्कमा क्लिक गर्नु अघि त्यसको यूआरएल अथवा म्यासेजमा भएको सूचना विचारपूर्वक हेर्नुहोस् । ईसेवा, खल्ती जस्ता डिजिटल वालेट वा कुनै बैंकबाट बोलेको भन्दै फोन वा म्यासेज गरेर तपाईंको मोबाइलमा आएको कोड (ओटीपी) मागेको खन्डमा नदिनुहोस् । किन भने बैंक तथा वित्तीय संस्थाले यस्ता व्यक्तिगत वित्तीय जानकारी कहिल्यै पनि फोन, म्यासेज वा ईमेलमार्फत माग्दैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *