रास्वपाले निर्वाचित केन्द्रीय सदस्यको सूची सच्यायो

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ ।

चुनावी परिणामको पुनः अध्ययनपछि यसअघि सार्वजनिक भएको सूचीमा रहेका २ जना सदस्यको नाम हटाउँदै रास्वपाले उनीहरूको ठाउँमा नयाँ सदस्यलाई निर्वाचित घोषणा गरेकाे हो ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुवकुमार थापामगर निर्वाचित हुनुभएकाे छ । त्यस्तै प्रादेशिक (भूगोल) तर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएका सोम शर्माको ठाउँमा पूजा बास्तोला निर्वाचित हुनुभएकाे छ ।

आयोगले महाधिवेशन निर्वाचन कार्यविधि–२०८३ बमोजिम मत परिणाम, उम्मेदवारी दर्ताका कागजात तथा सम्बन्धित प्रमाणहरूको पुनः अध्ययन गर्दा सूचीमा त्रुटि भएको निष्कर्ष निकालेपछि संशोधन गरिएको जनाएको छ ।

महाधिवेशनपछि केही उम्मेदवारले धेरै मत प्राप्त गर्दागर्दै पनि क्लस्टर व्यवस्थापनमा भएको त्रुटिका कारण आफूहरू निर्वाचित हुन नसकेको भन्दै गुनासो गरेका थिए । त्यसपछि निर्वाचन आयोगले विस्तृत अध्ययन गरी चुनावी परिणाम सच्याउँदै संशोधित सूची सार्वजनिक गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *