शुक्रबार बेलुकीदेखि किन रोकिइरहेको छ चन्द्रागिरि केबलकार ?
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०४ थानकोटमा चन्द्रागिरि हिल्स प्रालिबाट सञ्चालित चन्द्रागिरि केबलकार रोकिइरहेको देख्न सकिन्छ ।
स्थानीयहरूका अनुसार शुक्रबार साँझको भीषण हावाहुरी पश्चात केबलकार रोकिएको देखिएको थियो ।
प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले शुक्रबार केबलकार चढेर भालेश्वर डाँडामा पुगेका केही मानिसहरूको शुक्रबार बेलुकी नै सडक मार्गबाट केबलकारको बेस स्टेशनमा ल्याउने कार्य भएको जानकारी आफुले पाएको बताउनुभयो ।
यसैगरी चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा नंं ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले शुक्रबार साँझको हावाहुरीका कारण बन्द गरिएको केबलकारमा केही प्राविधिक समस्या देखिएको सूचना आफुले पाएको र केबलकारमा कुनै यात्री नअड्किएको जानकारी दिनुभयो ।
शुक्रबार साँझ तीव्र गतिमा हावा चलेपछि सबै यात्रुलाई सम्बन्धित स्टेशनमा पुर्याएपछि केबलकार बन्द गरिएको र पुनः सुचारू गर्न लाग्दा समस्या देखिएपछि सो को मर्मतको कार्य जारी रहेको जनाइएको छ ।












