भुटुन खाने तेलको मूल्य ह्वात्तै घट्यो
थानकोट ।
नेपाली बजारमा माग घटेपछि खाने तेलको मूल्य सस्तिएको छ।
डेढ महिनायता खाने तेलको मूल्य कार्टुनमा ३ सय रुपैयाँले घटेको छ।
रुस-युक्रेनको युद्धका कारण कच्चा पदार्थ आयात प्रभावित हुँदा खानेतेलको मूल्य कार्टुनमा ३ हजारमाथि पुगेको थियो। बजारमा मन्दी छाएपछि हाल खाने तेलको मूल्य कार्टुनमा २ हजारभन्दा तल आइपुगेको छ।
अत्यधिक खपत हुने तोरी तेलको मागमा पनि कमी आउँदा मूल्यमा गिरावट छ। तोरी तेल ब्राण्डअनुसार लिटरमा २० देखि ११० रुपैयाँसम्म घटेको छ। पहिले प्रतिलिटर ३६० रुपैयाँ प्रतिलिटर रहेको धारा तेल अहिले २५० रुपैयाँ पर्छ। अन्य ब्राण्डका तेलहरु लिटर २५० रुपैया पर्न थालेको छ।
मूल्य घट्दा उद्योगी र कारोबारीको व्यापारमा नाफा प्रभावित भए पनि उपभोक्तालाई भने राहत भएको छ। उपभोक्ताले डेढ वर्ष अघिको मूल्यमा तेल खरिद गर्न पाएका छन्। पछिल्लो केही समयदेखि खानेतेलको मूल्य क्रमिक घट्दै आएको थियो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ आपूर्ति हुन थालेसँगै घटेको मूल्यलाई अहिले मागमै आएको गिरावटले प्रभावित पारेको उद्योगीहरुले बताएका छन्। बजार मागमा कमी आउँदा उद्योगहरुले उत्पादन घटाउन सुरु गरेका छन्। खुद्रा बिक्रेताबाट अर्डर घट्न थालेसँगै थोक बिक्रेताले उद्योगहरुबाट उठाउने परिमाण घटाएका छन् बीजमाण्डुमा खबर छ।
यसको असर समग्र तेल उद्योगमा परेको छ। आर्थिक मन्दीको असर खानेतेलको व्यापारमा परेको पशुपति खाद्य तेल उद्योगका संचालक अमित सारडाले बताए। ‘अन्तर्राष्ट्रिय बजारमै खानेतेलको मूल्य घटेको छ। हाम्रो बजारमा पनि माग नै लगातार घटेको छ,’ उनले भने, ‘त्यसैको असर खुद्रा मूल्यसम्म परेको हो। बिक्री घटेपछि उद्योगहरुमा सोझै असर परेको छ।’
उनका अनुसार हाल तेलको नयाँ मूल्य सूर्यमुखी प्रतिलिटर १९५ रुपैयाँ र भटमासको तेल प्रतिलिटर १९० रुपैयाँ छ। यसअघि उक्त तेल प्रतिलिटर २१० रुपैयाँभन्दा बढी थियो। उपभोक्ताले ठूलो परिमाणमा खरिद गर्न सक्ने अवस्था नभएकाले उत्पादित तेल स्टक बस्न थालेको उनले बताए।
‘बजार माग घटेपछि मूल्य त घटेको छ, साथमा उद्योगले क्षमता नै घटाएर उत्पादन थोरै-थोरै गर्नु परिरहेको छ,’ उनले भने, ‘माग यस्तरी घटेको छ की उद्योगहरु २० प्रतिशत क्षमतामा चलिरहेका छन्,’ उनले भने। बजारमा पैसा नभएकाले ट्रेडर्स र थोकमा स्टक बसेको उनले बताए। स्टक बढ्न थालेपछि थोक बिक्रेताले मूल्य घटाएर बिक्री गर्न थालेको उनले बताए।
सामाखुसीस्थित गोर्खाली स्टोरका संचालक कृष्ण भट्ट तेलको माग र भाउ दुवै घटेको बताउँछन्। उनका अनुसार एक पटकमा कार्टुनमा ५० देखि एक सय रुपैयाँसम्म घट्दै गएको छ। ‘२ हजारमाथि पुगेको तेल कार्टुनमा १८ सयदेखि १९ सय पर्न थालेको छ,’ उनले भने।
बजारमा ब्राण्ड अनुसार तेलको मूल्य फरक-फरक छ। जसमा सूर्यमुखीको तेल औसत प्रतिलिटर १९० देखि २१० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। भटमासको तेल १ सय ९५ रुपैयाँसम्म छ। उनका अनुसार हाल खानेतेलको बिक्री सामान्य छ।
यसअघि बजारमा अनावश्यक रुपमा मूल्य बढेको अवस्था पनि आएको थियो। लागतभन्दा निकै बढी मूल्य राखेको गुनासो आउन थालेपछि उद्योग मन्त्रालयले तेल उद्योगहरुमा निगरानी बढाएको थियो। अस्वाभाविक मूल्य लिएको पुष्टि हुँदा केही उद्योग जरिवानाको कारवाहीमा पनि परेका थिए।
‘तेलको मूल्य बल्ल पुरानो लयमा फर्किएको भन्नुपर्छ। दैनिक उपभोग्य वस्तु भएकाले माग नै नभएको होइन तर पहिलेको भन्दा कम छ,’ संचालक भट्टले भने। माग लगातार घट्दै गएर उद्योगहरुले उत्पादनसँगै बजारमा आपूर्ति गर्ने परिमाण घटाउँदा भने पुनः महँगिने अवस्था आउने उनको आकलन छ।
व्यवसायीहरुका अनुसार केही समयता ठूलो परिमाणमा खपत हुने क्षेत्र होटल-रेष्टुरेन्टहरुमा तेलको माग घटेको छ। उद्योगहरुमा उत्पादन भएको तेल बजारमा जान सकेको छैन। उपभोक्ताले पनि स्टक नराख्ने गरी खरिद गर्न थालेका छन्। खानेतेलको बजार मूल्य अझ घट्न सक्ने अनुमान व्यवसायीको छ।
आयात पनि घट्यो
चालु आर्थिक वर्षमा सूर्यमुखी र भटमास तेलको कच्चा पदार्थको आयात घटेको भन्सार विभागको तथ्यांकले जनाएको छ। गत वर्ष रुस र युक्रेनको युद्धका कारण कच्चा पदार्थ पर्याप्त मात्रामा नपाइने र महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता थियो।
यतिबेला उद्योगीहरुले सहज रुपमा कच्चा पदार्थ पाउने भए पनि बजारमा तेलको माग नहुँदा आयात घट्दै गएको उद्योगीहरुले बताएका छन्। गत वर्षको चैत महिनासम्म नेपालमा ४५ अर्ब बराबरको भटमासको तेलको कच्चा पदार्थ आयात भएकोमा यो वर्षको सो अवधिमा करिब ३० अर्ब रुपैयाँको मात्र आएको छ।
गत वर्ष १६ अर्ब रुपैयाँको सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको थियो। यति बेला १३ अर्ब रुपैयाँको मात्र आयात भएको छ। साथै, भित्रिने परिमाण पनि झन्डै आधाले घटेको छ।













