प्रधानमन्त्री पुष्पकमल दाहाल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
थानकोट ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् ।
सो अवसरमा प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने सवालमा रविको सहयोगको अपेक्षा गरेका थिए । ‘सकभर त सरकारमा सहभागी भइदिएको भए झन् राम्रो हुन्थ्यो । त्यो हुन नसकेपनि तपाइँहरुले साथ जरुरी छ’, प्रचण्डको भनाइ उदृत गर्दै रास्वपाका एक नेताले भने, ‘म भ्रष्टाचारविरुद्ध र सुशासनको सवालमा निर्मम भएर उभिन्छु ।’
रास्वपाले हालैमात्रै सरकारलाई समर्थन फिर्ता लिएको थियो । सो पार्टीले रचनात्मक प्रतिपक्षमा बसेर भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने बताउँदै आएको छ ।













