दर्ता नभएका मोबाइलहरू भोलिबाट नचल्ने
थानकोट ।
सरकारले जेठ १ गतेदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने भएको छ।
नेपाल दूरसंचार प्राधिकरणले नेपालमा मोबाइल सेटहरुको प्रयोग र आयातलाई व्यवस्थित गर्न एमडीएमएस लागु गर्ने जनाएको छ।
‘व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँचपास भएका मोबाइल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ। नेपाल सरकारको ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वयंले राहदानी/नागरिकता तथा डिपार्चर/अराइभल स्ट्याम्प देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास उपलब्ध गराउनु पर्छ,’ प्राधिकरणको भनाइ छ।
त्यसैगरी, नेपाल भित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट प्राधिकरणको एमडीएमएस प्रणाली मा दर्ता भए/नभएको यकिन गरेर मात्रै खरिद गर्न सचेत गराएको छ। यस्तै, मोबाइल आयातकर्ता/बिक्रेताहरुले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणको पूर्व स्वीकृति लिएर दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न निर्देशन दिएको छ।












