सतुगंलमा समातिए पनाैतीको एक सहकारीबाट ३२ लाख चोरी गर्ने ४ मध्ये २ जना आरोपित
थानकोट ।
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका- ४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबाट ३२ लाख चोरी गरेको आरोपमा चारजना पक्राउ परेका छन्।
चोरीमा संलग्न भएका ६ मध्ये चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्रपुरुष ढकालका अनुसार सहकारीमा वैशाख १९ गते राति साढे १ बजे चोरी भएको थियो।
सहकारीबाट ३२ लाख ३१ हजार ७ सय ४५ रुपैयाँ चोरी भएको बताइएको छ। सहकारीको मूल गेटको ताल्चा फुटाई पिपिई सेट लगाएका ५-६ जनाको समूहले सहकारीका सुरक्षा गार्डलाई बन्धक बनाई सहकारीभित्र रहेको पैसा राख्ने भल्ब फुटाई चोरी गरेको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रेक अनुसार काठमाडौं चन्द्रागिरि नगरपालिका-१० सतुंगलबाट दुईजना र मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ बाट दुईजना गरी चारजना पक्राउ परेका हुन्। मकवानपुर इन्द्रसरोवर गाउँपालिका– ५ का २४ वर्षीय अमृत थिङ लामा र सोही स्थानका २९ वर्षीय गम्भीर भन्ने सोमलाल थिङलाई काठमाडौंबाट तथा सोही ठेगानाका ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामालाई स्थायी ठेगानाबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनीहरूबाट प्रहरीले नगद ५ लाख ४५ हजार रुपैयाँ बरामद गरेको छ।
चोरीमा प्रयोग भएको फलामको रड एक थान, भरुवा बन्दुक एक थान, फलामको गोली एक थान, बन्दुकमा प्रयोग हुने बारुद १ बट्टा, फलामको रेन्चु एक थान, फलामको हतौडा २ थान, फलामको पाइप एक टुक्रा, रामो एक थान, मोबाइल ५ थानलगायत पनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
उनीहरूलाई जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक ढकालले बताए।












