सार्वजनिक सवारीसाधनको भाडा घटाउने तयारीमा बागमती प्रदेश सरकार

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले डेढ महिनामा डिजेल र मट्टीतेलको मूल्य लिटरमै २० रुपैयाँले घटाएसँगै बागमती प्रदेश सरकारले पनि सार्वजनिक सवारीको भाडा घटाउने तयारी गरेको छ ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले गाडीको भाडा घटाउन तयारी गरेको हो ।

गाडीको भाडा घटाउने बिषयमा आन्तरिक छलफल भइरहेको र त्यस अनुसार केही दिनमानै निर्णय गरिने श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव आस्मान तामाङले बताउनुभयो । सार्वजनिक गाडीको भाडा घटाउने विषयमा अहिले छलफलकै चरणमा रहेको र त्यस अनुसार काम गरिने उहाँले बताउनुभयो ।

गत चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १०-१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले फेरी जेठ २ गते देखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०-१० रुपैयाँले भाउ घटाएको छ ।

संघीय सरकारले अन्तर प्रदेशमा गुढ्ने सवारीका साधनको भाडा घटाएको छ । तर, प्रदेश सरकारले केही दिनमा मात्र घटाउने जनाएको छ ।

चैत २० गते अघि डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर एक सय ७५ रुपैयाँ थियो । त्यसबेला डिजेलको मूल्य घट्दा पनि सार्वजनिक यातायातको भाडा घटेको थिएन । यातायात व्यवस्था विभागले २०७८ चैत १७ मा इन्धनको बजार मूल्य ५ प्रतिशत वा त्यसभन्दा थप बढे वा घटेमा भाडा समायोजन गर्नुपर्ने निर्णय गरेको थियो ।

वैज्ञानिक प्रणालीअनुसार डिजेलमा ५ रुपैयाँ घट्दा सार्वजनिक यातायातको भाडा दर स्वतः कम हुनुपर्ने हो, तर भाडा नघट्दा यात्रु र उपभोक्ता मारमा पर्दै आएका छन् ।

डिजेलको मूल्य प्रत्यक्ष उपभोक्तासँग नै जोडिन्छ ।

मूल्य बढ्दा ढुवानी भाडा बढ्छ भने त्यसको प्रत्यक्ष प्रभाव सबै ढुवानी सेवादेखि खाद्य वस्तुसम्ममा पर्छ । डेढ महिनाको बीचमा डिजेलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटेको अवस्थामा सार्वजनिक गाडीको भाडा पनि घटाउने गरी गृहकार्य भैरहेको यातायात व्यवस्था विभागले जनाएको छ।

संघीय सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ ।

डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

आजबाट सार्वजनिक सवारी साधनको भाडादर घट्यो, कहाँको भाडा कति ? (सूचीसहित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *