बागमती प्रदेशमा बजेटको अन्तिम तयारी, प्रत्यक्षमा जितेका सांसदलाई ३, समानुपातिकलाई १ करोड !
थानकोट ।
बागमती प्रदेशमा आउँदो असार १ गते प्रदेश सभामा प्रस्तुत हुने बजेटको अन्तिम तयारी भइरहेको छ ।
प्रदेशका धेरै जसो मन्त्रालयहरुले आफुले पाएको बजेटको सिलिङ अनुसार योजनाको छनोट गरेर पठाइसकेका छन् ।
संघीय सरकारले सांसदलाई बजेट छुट्याएपछि प्रदेशमा पनि सहज भएको र त्यही अनुसार प्रत्यक्ष निर्वाचित सांसदलाई ३ करोड रुपैयाँ र समानुपातिक सांसदलाई एक करोड रुपैयाँका दरले बजेट छुट्याउने तयारी रहेको बताइएको छ।
विशेष गरी सांसदहरुले ठुला योजनाहरुको छनोट गर्ने र त्यसअनुसार कार्यान्वयन गर्नका लागि बजेट छुट्याइएको हो ।
प्रत्यक्ष र समानुपातिक प्रदेशसभा सदस्यहरुले योजना छनोट गर्ने र स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी संघीय सरकारले जसरी नै बागमती प्रदेशमा पनि बजेट छुट्याउन लागिएको हो ।
प्रत्यक्ष र समानुपातिक प्रदेशसभा सदस्यहरुले कुनैपनि नाम दिएर प्रदेश सरकारले छुट्याएको बजेट सम्बन्धित क्षेत्रका जिल्ला समन्वय समिति र स्थानीय तहबाट खर्च हुनेगरी गर्न लागिएको छ ।
यसमा सांसदहरुले योजना छनोट गरेर काम गर्नेछन् । संघीय सरकारले सांसदहरुलाई छुट्याएको बजेट जसरी खर्च हुन्छ त्यसरी नै खर्च गर्ने गरी तयारी गरिएको छ ।
बागमती प्रदेशमा ११ वटा मन्त्रालय मध्ये सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट प्राप्त गरेको छ । अरु मन्त्रालयहरुले भने अर्थ मन्त्रालयबाट प्राप्त गरेको बजेट शिलिङ भित्र आफ्ना योजनाहरु पठाए पनि भौतिकमा भने पूर्वाधार निर्माणका धेरै काम हुने पनि भएकाले धेरै बजेट छुट्याइएको हो ।













