बैंक खातामा भएको रकमभन्दा बढीको आइपिओ भरे कारबाही हुने

Thankot Times

थानकोट ।

सेयर लगानीकर्ताले आफ्नो बैंक खातामा भएको रकमभन्दा बढीको प्राथमिक सेयर (आइपिओ) भरेमा कारबाही हुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले उल्लेख गरेको छ।

सोमबार एक सूचना निकाल्दै सिडिएससीले यस्तो भएमा झुटा वा जालसाजी कारोबार गरिएको मानिने र कानुन अनुसार कारबाही हुने उल्लेख गरेको छ।

घोराही सिमेन्ट्सको आइपीओमा लगानीकर्ताहरूले आफ्नो खातामा भएको रकमभन्दा बढीको लागि आवेदन दिएको पाइएको स्रोतले बतायो।

यसले गर्दा धेरै आवेदन रद्द हुने अवस्थामा आएपछि कम्पनीले आइपिओमा आवेदन दिन सकिने अवधि बढाएर असार १४ गतेसम्मलाई तोकेको छ। यसअघि सूचना अनुसार भने आज (असार ४ गते) आइपिओ निष्कासन बन्द हुने तालिका थियो।

कतिपयले अंकित मूल्य एक सय रूपैयाँको सेयर ठानेर आवेदन दिएको कारण पनि धेरै आवेदन रद्द हुने अवस्था आएको स्रोतले बतायो।

‘कम्तिमा १० कित्ता सेयरको लागि आवेदन दिँदा ४ हजार तीन सय ५० रूपैयाँ लाग्छ, तर पहिले जसरी नै एक हजार रुपैयाँले पुग्ने सोचेर आवेदन गरेको देखियो,’ स्रोतले भन्यो।

त्यसबाहेक करिब १४ आवेदकले आफ्नो खातामा भएको रकम नहेरी १० लाखभन्दा बढी कित्ताको लागि आवेदन गरेको पाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *