हवाई इन्धनको मूल्य घट्यो
थानकोट ।
नेपालमा हवाई इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनमा १० रुपैयाँ घटाएर १५० रुपैयाँ प्रतिलिटर कायम गरेको छ।
त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रति किलोलिटर २ सय अमेरिकी डलरले घटेको निगमले जनाएको छ।
‘अन्तर्राष्ट्रिय बजार मूल्य अनुरुप जुन ०१, २०२३ ( जेष्ठ १८, २०८०) मा निगमलाई प्राप्त हवाई इन्धनको नयाँ मूल्य यसअघिको मे ०१, २०२३ को तुलनामा केहि मात्रामा घटेर आएको हुँदा निगम संचालक समितिको मिति २०८०/०३/०५ गतेको निर्णय अनुसार आज मिति २०८०/०३/०५ गतेको राती १२:०० बजेदेखि लागु हुने गरी हवाई इन्धन (आन्तरिकतर्फ) को साविकको विक्री मूल्यमा प्रति लिटर रु. १०।०० ले घटाई नयाँ बिक्री मूल्य रू. १५०।०० प्रति लिटर तथा हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) को साविकको विक्री मूल्यमा प्रति किलो लिटर अमेरिकी डलर २००।०० (प्रति लिटर करिब रु.२६।००) ले घटाई नयाँ विक्री मूल्य प्रति किलो लिटर अमेरिकी डलर १,१५०।०० (प्रति लिटर करिव रु. १५१ ।०० ) कायम गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
मूल्य समायोजन पश्चात् भारतको कलकत्ताको हवाई इन्धन (आन्तरिकतर्फ) को विक्री मूल्यको तुलनामा नेपालको काठमाडौंमा बिक्री गरिने हवाई इन्धन (आन्तरिकतर्फ) को बिक्री मूल्य अझै पनि प्रति लिटर रू. ०३।६९ ले नेपाल तर्फ नै सस्तो रहेको निगमले जनाएको छ।















