थानकोटबाट कलंकी जाँदै गरेको ट्रकमा भन्सार छलीका २ सय किलो काजु, ८ हजार ६०१ थान कपडा
थानकोट ।
राजस्व छलीमा पछिल्लो तीनदेखि चार महिनायता भन्सारबाट धेरै बदमासी हुने गरेको पाइएको छ ।
भन्सार जाँचपासमा बदमासी गरेको आरोपमा वीरगञ्ज सुख्खा बन्दरगाह, सुख्खा बन्दरगाह चोभार र त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ५४ जना कर्मचारीमाथि अहिले अनुसन्धान भइरहेको छ ।
भन्सार विभाग र राजस्व अनुसान्धान विभागले गरेको अध्ययनमा त्रिवि विमानस्थल भन्सारका ४२ जना, चोभार सुख्खा बन्दरगाहका ३ र वीरगञ्ज सुख्खा बन्दरगाहका ११ कर्मचारी माथि लापरबाहीपूर्वक भन्सार जाँच पासको अनुसन्धान भइरहेको छ, अनलाइन खबरमा समाचार छ।
विभिन्न समयमा भन्सार जाँच पास भएका माल वस्तु पुनः जाँचका क्रममा राज्यलाई ठूलो नोक्सानी हुनेगरी कर्मचारीले काम गरेको पाइएको स्रोतले बतायो । ‘विस्तारै सबै कुरा खुल्दै जाला’, स्रोतले भन्यो,‘ राजस्व चुहावटमा कर्मचारीको भूमिका खुल्दैछ ।’
३२ जेठको बिहान साढे ६ बजे कालीमाटी प्रहरी वृत्तको टोलीले काठमाडौंको थानकोबाट कलंकी आउँदै गरेको बा ५ ख ८३८६ नम्बरको ट्रकलाई नियन्त्रणमा लियो । ट्रकबाट चालक सुरेश बल प्रकाउ परे भने ट्रकमा लाखौं मूल्य पर्ने भन्सार छलीका कपडा र काजु भेटिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार बरामद गरिएको ट्रकमा २०० किलो काजु, विभिन्न डिजाइन र कलरका टिसर्ट, साडी, लेहेंगा बनाउने कपडा, लेडिज टप, सुतीको कटन कपडा र महिलाको कुर्तासुटका ८ हजार ६०१ थान कपडा बरामद भए ।
बरामद भएको उक्त सामानसहित प्रहरीले ट्रकलाई विमानस्थल भन्सार कार्यालयमा थप कारबाहीका लागि पठायो ।














