चन्द्रागिरिको नीति तथा कार्यक्रमः स्वागतद्वार निर्माणमा नो बजेट, हरेक वडामा पानी पुनःभरण पोखरी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरको बिहीबार बसेको बाह्राै नगर सभाले आर्थिक वर्ष २०८०/८१ का लागि चन्द्रागिरि नगरको नीति तथा कार्यक्रम पारित गरेको छ ।

नगरसभाले विभिन्न पाँच वटा विषयगत शीर्षक नगरको नीति तथा कार्यक्रम पास गरेको हो ।

जसमा आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, पूर्वाधार क्षेत्र, वन तथा वातावरण क्षेत्र, सुशासन तथा संस्थागत विकास क्षेत्र रहेका छन् । अधिकांश विषयवस्तु यसअघिकै नीति तथा कार्यक्रममै समावेश भएका बुँदाहरू दोहोरिँदा केही नयाँ विषयले नीति तथा कार्यक्रममा प्रवेश पाएका छन् ।

नगरको नीति तथा कार्यक्रममा नगर क्षेत्र भित्रका सफल र राम्रा उद्योग व्यवसायीहरूको पहिचान गरी उद्योग व्यवसायको तथ्याङ्क अद्यावधिक गरी सम्मान गर्ने विषय समावेश भएको छ । यसैगरी स्थानीय पर्यटनको प्रवर्द्धनका लागि नगर क्षेत्रका ऐतिहासिक गढीहरूलाई जोड्दै चन्द्रागिरि सर्किट एकीकरण पदमार्ग निर्माणको विषयले आगामी वर्षको नीति तथा कार्यक्रममा प्रवेश पाएको छ । चन्द्रागिरि वडा नं. ४ को ऐतिहासिक गुफा उत्खनन् विषयसमेत सो नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यस्तै नगरमा श्रम डेस्कको व्यवस्था गरी स्थानीय रोजगारी प्रवर्द्धनको विषय चन्द्रागिरि नगरको नीति तथा कार्यक्रममा समावेश छ ।

नगर क्षेत्रभित्र सञ्चालनमा रहेका ‘ग’ वर्षका एम्बुलेन्सहरूलाई ‘ख’ वर्गमा स्तरोन्नती गर्दै एम्बुलेन्स सञ्चालन कार्यविधि बनाई सुत्केरी र अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क सेवा प्रदान गरिने नीति नगरले लिएको छ। यसैगरी नगरले लिपि तथा भाषाको संरक्षण तथा जगेर्ना गर्ने कार्यलाई यस वर्षपनि निरन्तरता दिइएको बताइएको छ।

चन्द्रागिरि नगर एकीकृत खानेपानी तथा सरसफाई ऐन जारी गरि लागू गरिने विषयले पनि नीति तथा कार्यक्रममा प्रवेश पाएको छ । साथै नगरमा एशियाली विकास बैंकको खानेपानी आयोजना सर्वेक्षण र कार्यान्वयन अगाडि बढाइने सो नीति तथा कार्यक्रममा उल्लेख छ । जात्रा खर्च भुक्तानीको लागि कार्यविधि बनाई भुक्तानीलाई सरल बनाइने विषय पनि चन्द्रागिरि नगरको आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यसैगरी महिलाहरूको नाममा व्यवसाय दर्ता गर्दा लाग्ने दस्तुरमा पचास प्रतिशत छुट दिने बताइएको छ । नगरले पुरातात्विक स्वागतद्वारको पुनःनिर्माण बाहेक अन्य स्वागतद्वार निर्माणमा नगरपालिकाबाट बजेट विनियोजन नगरिने उल्लेख छ । नगरस्तरीय सम्मेलन केन्द्र निर्माणका लागि नगरले संघ तथा प्रदेश सरकारसँग साझेदारी गरिने, प्रत्येक वडाहरूमा पुरानो पोखरी संरक्षण तथा कम्तीमा २ वटा नयाँ पोखरी निर्माण गरी पानी पुनर्भरण गर्ने नीति नगरले लिएको छ।

सबै तस्बिरः नगरप्रमुखको सचिवालय


One thought on “चन्द्रागिरिको नीति तथा कार्यक्रमः स्वागतद्वार निर्माणमा नो बजेट, हरेक वडामा पानी पुनःभरण पोखरी

  1. cha na pa 3 ma parne matikhel setidevi mandir nira auta talau banana upayukta dekhekoxu.

Leave a Reply

Your email address will not be published. Required fields are marked *