एसिसी यू-१६ इस्ट जोन कप फाइनल, नेपालले दियो २५२ रनको विशाल चुनाैती

Thankot Times

थानकोट ।

मलेसियामा जारी एसिसी यू-१६ इस्ट जोन कपको फाइनलमा नेपालले घरेलु टोली सामु २ सय ५३ रनको विशाल लक्ष्य दिएको छ ।

बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रन बनायो ।

नेपालका नरेन भट्ट ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेले । उनले ८२ बलमा शतक पूरा गरेका थिए । उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

नेपालका ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए ।

निरज मोहम्मद फथुल मुइनको बलमा एलबीडब्लू आउट भएका हुन् । दोस्रो विकेटका लागि निरज र नरेन भट्टले ५५ बलमा ५५ रनको साझेदारी गरेका थिए ।

नेपाललाई ओपनर सुर्यांशु कोइराला र निरज कुमारले पहिलो विकेटका लागि ७.२ ओभरमा ४१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । सुर्यांशु तीव्र गतिका बलर एरिन अकिलको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर हम्जा पांगीबाट समातिन पुगे । सुर्यांशुले २३ बलमा २ चौकासहित १८ रन बनाए । सन्तोष यादव २९, अशोक धामी ११ र दिपु कुमार ५ रनमा आउट भए ।

मलेसियाका मोहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *