न्युरोडबाट चोरी भएको मोबाइल सतुङ्गलमा भेटियो, दुईजना पक्राउ
थानकोट ।
काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका २५ थान मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका घर भई हाल काठमाडौंको बसन्तपुर बस्ने २४ वर्षीय सुरेश हमाल र दैलेखको महाबु गाउँपालिका–१ घर भई काठमाडौंको चन्द्रागिरि बस्ने १९ वर्षीय विवेक कुमार शर्मा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले असोज १६ गते जारी गरेको विज्ञप्तिअनुसार, मोबाइल चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले खोजतलास गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले असोज १५ गते बिहान करिब ११ः३० बजे काठमाडौं महानगरपालिका–२२, न्युरोडबाट हमाललाई चोरीको एक थान मोबाइलसहित नियन्त्रणमा लिएको थियो ।
सोधपुछका क्रममा थप चोरीका मोबाइल उनका साथी शर्मासँग रहेको खुलेपछि प्रहरीले शर्माको खोजी गरेको जनाएको छ।
सोही दिन काठमाडौंको सतुंगलबाट शर्मालाई विभिन्न कम्पनीका २४ थान मोबाइलसहित नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जनाएका छन्।
दुवै जनामाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














