आयल निगमले पोखरामा निर्माण गर्यो थानकोटपछिको ठूलो इन्धन भण्डारण केन्द्र

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले पोखराको गगनगौडामा निर्माण गरेको डिजेल भण्डारण गृहको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले  उद्घाटन गरेका छन्।

यो भण्डारण गृह क्षमताका हिसाबले नेपालकै तेस्रो ठूलो भन्डारण गृह हो।

यसमा १० हजार किलोलिटर डिजेल भण्डारण गर्न सकिन्छ।

नेपालमा इन्धन भण्डारण सबैभन्दा ठूलो अमलेखगञ्ज, दोस्रो ठूलो थानकोट र गगनगौंडामा बनेको डिपो देशको तेस्रो ठूलो भएको बताइएको छ।

नेपाल आयल निगमको प्रादेशिक कार्यालय पोखराले हेर्ने गरी उक्त डिपो निर्माण गरिएको हो।

८९ करोड लागतमा तयार भएको उक्त डिपोमा भण्डारण भएको डिजेलले गण्डकी प्रदेशमा डिजेलको माग एक महिनालाई धान्नेछ।

गण्डकी प्रदेशमा मात्र डिजेल र पेट्रोल पम्प ५८ वटा छन्। यी डिजेल पम्पबाट गण्डकीमा एक महिनामै १ करोड लिटर डिजेल खपत भइरहेको आयोजना प्रमुख मनोज ठाकुरले सेतोपाटीलाई बताए।

‘अब गण्डकीका सबै डिजेल पम्पमा यहींबाट डिजेल खपत हुन्छ,’ ठाकुरले भने, ‘यो डिपोबाट गण्डकीलाई १ महिना पुग्ने इन्धन भण्डार गर्न सकिन्छ।’

दुलेगौंडा इन्धन डिपो उद्घाटन गरेपछि मन्त्री रिजालले गण्डकीमा बनेको यस डिपोले ‘इनर्जी सेक्युरिटी’मा ठूलो टेवा पुर्‍याउने बताए।

गगनगौंडामा बनेको यो डिपोले इनर्जी सेक्युरिटीमा ठूलो टेवा पुर्‍याएको छ,’ मन्त्री रिजालले भने, ‘अब गण्डकी प्रदेशलाई एक महिना पुग्ने इन्धन यहीं भण्डारण भइरहेनेछ।’

यो डिपोमा पूर्ण स्वचालित प्रणाली भएकाले अग्नि नियन्त्रणमा सहज हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *