त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद, तीनजना पक्राउ
थानकोट ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ क्विन्टल सुन बरामद भएको छ ।
पाँच दिनअघि नै नेपाल आइपुगेको सो सुनसँगै तीनजना पक्राउ परेका छन् । क्याथे प्यासिफिक जहाजबाट उक्त सुन पाँचदिन अघि नै नेपाल आएको र मंगलबार भन्सार पास भएको बताइएको छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीनजनालाई पक्राउ गरिएको हो ।
भन्सार पास भइसकेको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट गन्तव्यतिर लैजाने क्रममा बरामद भएको उनको भनाइ छ। ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको उनले जानकारी दिए ।
हङकङदेखि क्याथे प्यासिफिक जहाजबाट उक्त सुन चारदिन अघि नै नेपाल आएको थियो ।
रेडी ट्रेडलिंक बूढानीलकण्ठको नाममा ल्याएको १६० वटा ब्रेकप्याड भित्र लुकाइएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको बताइएको छ ।














