चन्द्रागिरिबाट बानेश्वर पुग्दा बैठकको निष्कर्ष नै फेरियो !

Thankot Times

थानकोट । 

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद र प्रदेश सभाका सभामुख तथा उपसभामुखको भेलाको निष्कर्ष आफ्नो जानकारी बिना फेरबदल गरिएको भन्दै आपत्ति जनाएकी छन् ।

साउन ५ र ६ गते काठमाडौंको चन्द्रागिरिमा ‘संघीय संसद तथा प्रदेश सभाका सभामुख र उपसभामुखबीच अनुभव आदान प्रदान तथा अन्तर्क्रिया’ भएको थियो । अर्यालका अनुसार उक्त कार्यक्रमले उपसभामुखहरु र राष्ट्रिय सभाका उपाध्यक्षको छुट्टै संसदीय संयन्त्र निर्माण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा नेतृत्वको विषय चन्द्रागिरिबाट बानेश्वर पुग्दा फेरिएको भन्दै राष्ट्रिय सभाका उपाध्यक्षले आपत्ति जनाएकी हुन् ।

‘संविधान प्रदत्त महिलाको हक अधिकार कार्यान्वयन गर्न र महिला सशक्तिकरणका लागि प्रतिनिधि सभाका उपसभामुखको नेतृत्वमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखहरु रहेको एक संसदीय संयन्त्र निर्माण गर्ने’, आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा वितरित निष्कर्षको बुँदा नम्बर ७ मा उल्लेख छ ।

तर, उपाध्यक्ष अर्यालले आफूलाई दिइएका निष्कर्षको मस्यौदामा यस्तो संयन्त्र संघीय संसदको उपसभामुख र उपाध्यक्षको नेतृत्वमा प्रदेश सभाका उपसभामुखहरु रहेको एक संसदीय संयन्त्र निर्माण गर्ने लेखिएको बताएकी छन् ।

पत्रकार सम्मेलनमा वितरीत निष्कर्षमा संयन्त्रको नेतृत्व प्रतिनिधिसभाका उपसभामुखले गर्ने उल्लेख छ । उपाध्यक्ष अर्यालले भने अनुसार भेलामा उपसभामुख र उपाध्यक्षको सामूहिक नेतृत्व रहने तय भएको थियो अनलाइनखबरमा समाचार छ ।

आइतबार साँझ विज्ञप्ति निकालेर उपाध्यक्ष अर्यालले भनेकी छन्, ‘यसरी चन्द्रागिरिबाट वानेश्वर आउँदासम्म किन बुँदा संशोधन गर्नुपर्ने भयो ?’ संयन्त्रको निर्माण गर्ने सन्दर्भमा भएको निर्णयको निष्कर्ष फेरिएको भन्दै आफ्नो सहमति नरहेको समेत बताएकी छन् । उनले सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग प्रश्न गरेकी छन्, ‘म सँग जोडिएको विषयमा मलाई नै जानकारी नगराई, थाहा समेत नदिई किन बिहान दिइएको मस्यौदा संशोधन गरियो ?’


Leave a Reply

Your email address will not be published. Required fields are marked *