विलासी नेपाली, १ वर्षमा ३८ लाख थान हेडफोन भित्रिँदा, ३६ करोडका स्मार्टवाच भित्रिए
थानकोट ।
भन्सार विभागले गत आर्थिक वर्ष २०७९–८० को वैदेशिक व्यापारको तथ्याङ्क सोमबार सार्वजनिक गरेको छ । विभागको तथ्याङले नेपालको आयात र निर्यात दुवै व्यापार अघिल्लो वर्षको तुलनामा ओरालो (घाटा) लागेको देखाएको छ । आयात गरिएका वस्तुमा पनि विलासिताका सामग्री बढी रहेको छ ।
नेपालको वैदेशिक व्यापार घाटा १५.१५ प्रतिशतले घटेको विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९–८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँको वस्तु विभिन्न देशबाट आयात गरेको थियो ।
गत आर्थिक वर्ष २०७९–८० दुई खर्ब ७८ अर्ब ७६ करोड ८९ हजार रुपैयाँको पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यास आयात भएको छ । विभागका अनुसार गत वर्ष पेट्रोल र डिजेल २० लाख ८९ हजार ३०० किलोलिटर आयात भएको छ भने ५१ करोड ४३ लाख ४० हजार ७६८ किलोग्राम खाना पकाउने एलपी ग्यास आयात भएको छ ।
गत आर्थिक वर्ष २०७९–८० मा नेपालले सुन आयात गर्दा ४५ अर्ब सात करोड एक लाख २९ हजार रुपैयाँ देशबाट बाहिरिएको छ । भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले तीन हजार ५४२.४१ केजी सुन आयात गर्दा उक्त रकम बाहिरिएको हो ।
गत आर्थिक वर्ष २०७९–८० मा स्मार्टफोन र अन्य फोन गरी ३९ लाख ३५ हजार ३६७ वटा मोबाइल सेट नेपाल भित्रिएका छन् । करिब २६ अर्ब ५१ करोड रुपैयाँ बराबरका यी डिभाइसबाट सरकारले चार अर्ब ८८ करोड रुपैयाँ राजस्व उठाएको छ बाह्रखरीमा खबर छ।
आर्थिक वर्ष २०७९–८० मा ३७ लाख ९१ हजार १०१ हेडफोन र इयरफोन जस्ता उपकरणहरु भित्रिएका छन् । एक वर्षको अवधिमा भित्रिएका करिब ४६ करोड रुपैयाँ बराबरका सामग्रीबाट सरकारले करिब १४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
पछिल्लो एक वर्षको अवधिमा दुई लाख ८६ हजार ५७१ स्मार्टवाच नेपाल भित्रिएको छ । करिब ३६ करोड रुपैयाँ बराबरका यी स्मार्टवाचबाट सरकारले ११ करोड ५७ लाख रुपैयाँ राजस्व उठाएको छ । गत आर्थिक वर्ष २०७८–७९ मा चार लाख ४४ हजार १५३ वटा स्मार्टवाच नेपाल भित्रिएका थिए ।














