सुन तस्करी प्रकरणः मन्त्रीहरूलाई समितिमा बोलाएर छलफल गर्नुपर्नेमा सांसद् केसीको जोड
थानकोट ।
प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले सुन तस्करी प्रकरणका सम्बन्धमा चासो दिएको छ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा यसबारे छलफल गर्ने कार्यसूची तय नभएपनि यो विषयले छलफलमा प्रवेश पाउनुका साथै सरकारलाई छानबिन समिति गठनका लागि ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।
नेपाली कांग्रेसका सांसद राजन केसीले जहाँ भ्रष्ट्राचार भइरहेको छ त्यसलाई लेखा समितिले गम्भिरताका साथ लिँदै अघि बढ्नुपर्नेमा जोड दिए । उनले सुन तस्करी प्रकरणलाई समितिले ग्रहण गर्दै छानबिन गर्न समितिले चासो लिनुपर्ने बताए । यो प्रकरणमा मन्त्रीहरूलाई समितिमा बोलाएर छलफल गर्नुपर्नेमा जोड दिए ।
सांसद् केसीले हालको सुन तस्करीमा सुन र मान्छे समातिएको बताउँदै ३३ किलो सुन तस्करी प्रकरणमा सुन फेला परेपनि मान्छेहरू जेलमा रहेको अवस्था रहेकोले फेरि त्यस्तो अवस्था रहन नहुने बताए ।
बैठकमा नेकपा एमालेका सांसद् योगेश भट्टराई, सांसद् रामकृष्ण यादव, सञ्जय गौतम, तेजुलाल चौधरी, अर्जुन नर्सिङ केसी, लगायतले धारणा राखेका थिए ।
बैठकले विमानस्थलबाट भएको क्वीन्टलबढी सुन तस्करीको विषयमा छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।












