युवा फुटबलर मनिष थाइल्यान्डको क्लबमा अनुबन्धित
थानकोट ।
नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर मनिष डाँगीले थाइल्यान्डबाट व्यावसायिक फुटबल खेल्ने भएका छन् । मनिषलाई थाइल्यान्डको दोस्रो श्रेणीको रायोङ फुटबल क्लबले अनुबन्ध गरेको छ ।
मनिष र रायोङबीच एक वर्षको सम्झौता भएको बताइएको छ । थाइ लिगमा अनुबन्धित हुने मनिष पहिलो नेपाली खेलाडी हुन् । उनले नेपाली राष्ट्रिय टोलीबाट २२ खेल खेल्दै दुई गोल गरेका छन् ।
शहीद स्मारक ‘ए’ डिभिजन लिगमा गत सिजन सङ्कटा क्लबबाट खेलेका मनिषले २४ खेल खेल्दै चार गोल गरेका थिए ।
त्यसअघि उनी मच्छिन्द्र क्लबसँग आबद्ध थिए ।
मनिषसँग बहराइनको क्लब इत्तेहाल अल रेफबाट पनि खेलेको अनुभव छ ।













