ह्वात्तै घट्यो खाना पकाउने एलपी ग्यासको मूल्य, अब कति पर्छ एक सिलिण्डर ग्यासको मूल्य ?
थानकोट ।
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटाएको छ । आज राती १२ बजेदेखि लागू हुने गरेर निगमले एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १३० रुपैयाँले घटाएको हो ।
निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि एलली ग्यासमा नाफा नखाने नीति लिएको छ ।
अन्य पेट्रोलियम पदार्थमा नाफा लिने भएपनी एलपी ग्यासमा नाफा नलिने नीति लिएको प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले बताए ।
यससँगै अब एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६६० रुपैयाँ पर्ने भएको छ । यसअघि एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १७९० रुपैयाँ थियो ।
यसैगरी नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेसनले नयाँ मूल्य सूची बढेर आयपछि स्वचालित मूल्य प्रणाली अनुसार बढाएको बताएकाे छ ।
हाल पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँमा कारोबार भइरहेको छ भने डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुग्ने भएको छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुग्ने भएको छ ।















