‘तपाईंले नियुक्तिपत्र पाउनुभएको छैन, उजुरी गर्नूस्’

Thankot Times

थानकोट ।

कतै नियुक्तिपत्रबिना काम गर्नु परेको त छैन् ? त्यस्तो हो भने बुधबारदेखि श्रम, तथा व्यवसायजन्य सुरक्षा विभागको हटलाइन नम्बर ९८५१३५०४५१ को भाइबर तथा ट्विटरमार्फत सिधा सम्पर्क गरेर उजुरी टिपाउन सकिने विभागले जनाएको छ । विभागले यस्ता उजुरीको अवस्था अनुसार तुरुन्तै कानुनबमोजिम सम्बन्धित रोजगारदाता प्रतिष्ठानलाई कारबाही गर्ने प्रक्रियामा जाने तयारी गरेको जनाएको छ ।

विभागका निर्देशक मणिनाथ गोपले नियुक्तिपत्रबिना काम गर्ने समस्या थुप्रै भए पनि कतिपयले आउन झन्झटले गर्दा उजुरी दिने नगरेकाले सहज बनाउन हटलाइन सेवा सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नियुक्तिपत्रबाहेक उद्योग प्रतिष्ठानमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएमा, तोकेको पारिश्रमिक दिन ढिलासुस्ती गरेमा, बालश्रम लगाएको पाइएमा पनि हटलाइनमा तुरुन्त उजुरी गर्न सकिन्छ । भाइबर र ट्विटरमार्फत आएका उजुरीको तुरुन्तै श्रम ऐन २०७५ र नियमावली २०७६ अनुसार कारबाही प्रक्रियामा लैजाने निर्देशक गोपले जानकारी दिनुभयो ।

त्यस्ता समस्या भएका श्रमिकले गोप्य रूपमा रोजगारदाताको प्रतिष्ठानको नाम र ठेगानासहित आफ्नो समस्या स्पष्ट भाइबर वा ट्विटरमार्फत तोकेको नम्बरमा पठाउन सक्ने पनि उहाँले जानकारी दिनुभयो । यस्ता उजुरी सुनुवाइका लागि विभागमा छुट्टै समूह बनाइएको र उक्त टोली आवश्यकताका आधारमा कानुनी सल्लाह लिएर उजुरीको सुनुवाइका लागि अगाडि बढ्ने निर्देशक गोपले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ