साउन २७ मा कांग्रेसको ‘पोलिसी ह्याकाथन’, उत्कृष्ट प्रस्तावलाई ३ लाख नगद पुरस्कार
थानकोट ।
नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ‘पोलिसी ह्याकाथन’ को आयोजना गर्ने भएको छ ।
कांग्रेसले साउन २७ मा युवा अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर युवा लक्षित कार्यक्रम गर्न लागेको हो ।
कांग्रेस महामन्त्री गगन थापाका अनुसार कार्यक्रम युवा र जलवायु परिवर्तन सम्बन्धी ‘ग्रीन स्किल्स् फर युथः टुवार्डस् अ सस्टेनेबेल वर्ल्ड’ विषय केन्द्रित हुनेछ । स्वदेश र विदेशबाट ४० वर्षसम्मका जो कोही नेपाली युवा यसमा सहभागी हुनसक्ने महामन्त्री थापाले बताए ।
उक्त कार्यक्रमका लागि सहमहामन्त्री जीवन परियारले सहजीकरण गरेका छन् । युवा लक्षित कार्यक्रमको संयोजन युथ कांग्रेसका अध्यक्ष सचिन तिमल्सेनाले गरेका छन् । गीग अर्थतन्त्रका माध्यमबाट रोजगारी सिर्जना गराउन सकिने प्रस्तावहरु आह्वान साउन २७ बाट गरिने छ । आएका प्रस्तावहरु मध्येबाट प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई पुरस्कृत गरिने छ ।
आंशिक रोजगारी उपलब्ध हुनुलाई गीग इकोनोमीका रुपमा बुझिन्छ ।स्वतन्त्रपूर्वक कार्य गर्ने गरि पार्टटाइमको लागि रोजगारी प्रदान गरिएको हुन्छ । गीग इकोनोमीका लागि नेपालमा गर्न सकिने कार्यहरुका प्रस्तावको आव्हान गरिएको छ । आएका प्रस्तावहरु मध्येबाट उत्कृष्ट चयन गर्न पाँच जना निर्णायक तोकिने छ ।
भदौ २ मा विजयीहरु घोषणा हुनेछ । उत्कृष्ट ठहर भएका प्रस्तावमा पहिलोलाई ३ लाख रुपैयाँ, दोस्रोलाई डेढ लाख, तेस्रोलाई ५० हजार पुररस्कार रकम तोकिएको छ ।












