चन्द्रागिरिमा ‘तारको जङ्गल’ हटाउन सुरु, अब जमिन मुनिबाटै यसरी घर-घरमा पुग्नेछ इन्टरनेट

Thankot Times

थानकोट ।

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले नेपाल विद्युत् प्राधिकरण, काठमाडौं महानगरपालिका र विभिन्न स्थानीय तहहरूसँगको समन्वयमा काठमाडौं उपत्यकाका मुख्य तथा भित्री सडकहरूमुनि अप्टिकल फाइबर बिछ्याएर इन्टरनेट नेटवर्क भूमिगत (अन्डरग्राउन्ड) गर्ने काम गरिरहेको छ ।

यो केवल तारलाई जमिनमुनि गाड्ने साधारण काम मात्र नभई डिजिटल नेपाल निर्माणका लागि एउटा बलियो पूर्वाधारको जग पनि हो ।

यो परियोजनाअन्तर्गत विद्युत् प्राधिकरणले बिजुलीका तार भूमिगत गर्दाकै समयमा इन्टरनेटका पाइपहरू पनि सँगसँगै बिछ्याइएको छ । बारम्बार सडक भत्काउनुको साटो एउटै समयमा सबै निकायको काम एकैचोटि गर्दा एकातिर लागत घटेको छ भने अर्कोतिर सर्वसाधारणलाई हुने सास्ती पनि कम भएको छ ।

अहिले कलङ्कीदेखि थानकोट चेकपोस्टसम्म सडक उत्खनन र पाइप बिछ्याउने सुरुवाती चरणका कामहरू तीव्र गतिमा अगाडि बढिरहेका छन् । विभिन्न रङ्गका पाइपहरू जमिनमुनि बिछ्याइएका छन् ।

हरियो पाइप ७-वे पाइप हो, जसभित्र साना-साना ७ वटा अरू पाइपहरू हुन्छन् । एउटै सानो पाइपभित्र १४४ कोरको अप्टिकल फाइबर छिराउन सकिन्छ । अर्थात्, एउटै हरियो पाइपबाट हजारौं कोर फाइबर लैजान सकिने क्षमता छ ।

मुख्य सञ्जाल र भावी आवश्यकताका लागि प्रयोग गरिने उच्च घनत्वका पाइपहरूलाई कालो रङ्ग दिइएको छ भने सोझै ग्राहकको घर वा कार्यालयसम्म इन्टरनेट पुर्‍याउन सानो आकारका निलो रङ्गका पाइप प्रयोग गरिएको छ ।

ग्राहकको इन्टरनेट सेवा कहिल्यै अवरुद्ध नहोस् भनेर ‘प्रोटेक्सन नेटवर्क’ बनाइएको छ । जसअनुसार एउटै घरमा दुईवटा अलग-अलग बाटोबाट फाइबर पुर्‍याइएको हुन्छ । कुनै एकतर्फको फाइबरमा क्षति पुगे पनि अर्को बाटोबाट स्वतः इन्टरनेट चलिरहन्छ ।

प्राविधिक रूपमा सहरी राउटरको प्रयोग गरी एउटै भूमिगत फाइबर सञ्जालबाट २० देखि ३० वटा वा सोभन्दा बढी आईएसपीहरूले आफ्ना ग्राहकलाई सेवा दिन सक्नेछन् ।

कुनै आईएसपीले आफ्नै अलग्गै फाइबर माग गरेमा त्यसका लागि स्पेयर पाइपको पनि व्यवस्था गरिएको टेकपानामा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *