दुई महिनामा भित्रिए २,८३४ विद्युतीय कार

Thankot Times

थानकोट ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले दुई हजार आठ सय ३४ वटा विद्युतीय कार, जिप र भ्यान आयात गरेको छ।

भन्सार विभागका अनुसार उक्त अवधिमा आयात गरिएका विद्युतीय कार, जिप र भ्यानको कुल मूल्य ६ अर्ब ७० करोड रुपैयाँ बराबर छ। ती सवारीसाधन आयातबाट सरकारले समीक्षा अवधिमा चार अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्षको दोस्रो महिनामा विद्युतीय कार, जिप र भ्यानको आयात उल्लेख्य बढेको छ। भदौमा मात्रै दुई हजार एक सय ४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। यो संख्या आर्थिक वर्षको पहिलो महिना साउनमा आयात भएका ६ सय ८९ वटा सवारीसाधनभन्दा तीन गुणाभन्दा बढी हो।

भदौमा आयात भएका विद्युतीय सवारीसाधनको कुल मूल्य पाँच अर्ब नौ करोड रुपैयाँ बराबर छ। सरकारले ती सवारीसाधनको आयातबाट तीन अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

अगस्ट मध्यदेखि सेप्टेम्बर मध्यसम्म विद्युतीय सवारीसाधनको आयात उल्लेख्य बढेको हो। अगस्टमा आयोजित नेपाल नाडा मोबिलिटी एक्स्पो तथा नाडा अटो सोमा बुकिङ भएका सवारीसाधन आपूर्ति गर्न व्यवसायीले ठूलो संख्यामा गाडी आयात गरेका हुन्।

दसैँ र तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा यात्रुवाहक सवारीसाधनको माग बढ्ने अपेक्षामा व्यवसायीले आयात बढाएका छन्।

चालु आर्थिक वर्ष २०२६/२७ को दोस्रो महिना भदौमा चीन विद्युतीय सवारीसाधनको सबैभन्दा ठूलो आपूर्तिकर्ता बनेको छ। भन्सार विभागको तथ्यांकअनुसार भदौमा चीनबाट तीन अर्ब पाँच करोड रुपैयाँ बराबरका एक हजार दुई सय ५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।

यीमध्ये अधिकांश सवारीसाधन मुस्ताङको कोरला नाकाबाट आएका हुन्। चीनसँग जोडिएका रसुवागढी र तातोपानी नाका बन्द रहेकाले कोरला नाकाबाट आयात बढेको हो। अगस्ट २६ मा आएको भोटेकोशी बाढीले रसुवागढीको प्रवेश नाका पूर्ण रूपमा बगाएको थियो। तातोपानी नाका भने पहिरोको जोखिम देखाउँदै चीनले बन्द गरेको छ।

बीवाईडी, चेरी, ओमोडा, जिक्को, डोङफेङ, लेपमोटर, एमजी, ग्रेट वाल मोटर्स र डीपललगायत चिनियाँ विद्युतीय गाडीका ब्रान्ड नेपाली बजारमा लोकप्रिय छन्।

विभागको तथ्यांकअनुसार भदौमा भारतबाट पाँच सय ४० वटा विद्युतीय कार आयात भएका छन्। भारतबाट टाटा, महिन्द्रा, किया, एमजी र सुजुकीलगायत ब्रान्डका विद्युतीय कार आयात भएका हुन्। यस्तै, थाइल्यान्डबाट तीन सय ४८ वटा र अमेरिकाबाट एउटा विद्युतीय सवारीसाधन आयात भएको छ।

आर्थिक वर्ष २०२५/२६ मा नेपालमा विद्युतीय सवारीसाधनको आयात २०.११ प्रतिशतले घटेर १० हजार ८ सय ४७ वटामा सीमित भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ